काठमाडौँ — नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठनहरुको अधिवेशन चैतमा गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि यस्तो निर्णय भएको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए । उनले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताउँदै तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव लिएको पनि बताए ।
छलफलपछि बोल्दै उनले भने ' भातृ संगठनहरुको अधिवेशन सम्पन्न गर्न सिनियर साथीहरुलाई राखेर निर्देशक समिति गठन गरी अधिवेशन चैतसम्म गर्ने भनेर पार्टीले निर्णय गरेको थियो, त्यसैको प्रगतिका बारेमा नेतृत्वमा प्रस्तुत गर्ने र पार्टीले कसरी मद्दत गर्नसक्छ भन्ने बारेमा उहाँहरुसँग छलफल केन्द्रित भयो ।' उनले छलफलमा सहभागी केहीले अधिवेशन चैतमा चुनौती भएको बताएको तर धेरैले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिवद्धता जनाएको बताए । उनले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको पनि बताए ।
