विद्यालय शिक्षा पूरा नगर्दै छोरीको विवाह गर्ने विद्यमान मानसिकतालाई निरुत्साहित गर्नुपर्छ । - सतिशकुमार सिंह, मुख्यमन्त्री
जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले छोरीलाई बोझ मान्ने मानसिकताका कारण मधेशमा बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । बुधबार बालविवाहविरुद्धको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री सिंहले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने धारणा राखेका छन् ।
बालविवाहमुक्त नेपालका लागि अभियान चलाइरहेको ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’ तथा ‘बेस नेपाल’ का प्रतिनिधि एवं जनकपुरको सरस्वती माविका छात्रा र शिक्षकसँगको भेटमा मुख्यमन्त्री सिंहले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएको भन्दै हरतरहले बालविवाह समाप्त गर्ने प्रतिबद्धता व्यक्त गरे । गरिबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको उनको भनाइ थियो । ‘विपन्नतासँग लडिरहेका अभिभावकले विद्यालय शिक्षा पूरा नगर्दै छोरीको विवाह गर्ने विद्यमान मानसिकतालाई निरुत्साहित गर्नुपर्छ,’ उनले भने ।
छोरीको शिक्षाका लागि अभिभावकमा संवेदनशीलता बढाउन बालिकाहरूले घरभित्र पनि सचेतना जगाउनुपर्ने मुख्यमन्त्री सिंहले सुझाए । उनले मधेशमा सरकारी सेवातर्फ ५० प्रतिशत महिला आरक्षण रहेको भन्दै छोरीलाई शिक्षार्जन गरी प्रतिस्पर्धात्मक बाटोबाट अवसर पाउन प्रदेशमा सहज रहेको बताए ।
हस्ताक्षर कार्यक्रममा सहभागी सामाजिक अभियन्ता बालकृष्ण पाण्डे, गंगाधर अधिकारी, शिक्षकहरू देवकी पराजुली, मेघराज यादव र नागेश्वर साहलगायतले बालविवाह रोक्न छात्रालाई शिक्षामा टिकाइराख्नु आवश्यक रहेको औंल्याए ।
