बालमैत्री घोषणा दिगो रुपमा कार्यान्वयन गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

फाल्गुन १, २०८१

प्रताप विष्ट

Deputy Prime Minister Singh's request to implement the Child Friendly Declaration in a sustainable manner

हेटौंडा — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पालिकालाई बालमैत्री घोषणामात्र गरेर नहुने भन्दै त्यसलाई दिगो रुपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् । उनले निकृष्ट बालश्रम, बालविवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेर मुलुकका अन्य पालिकाहरुलाई सकारात्मक सन्देश दिन हेटौंडा उपमहानगरपालिका सफल भएको बताए । 

हेटौंडा उपहानगरपालिका-५ पिप्ले क्याम्पा रंगशालामा बिहीबार आयोजित कार्यक्रममा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्दै उपप्रधानमन्त्री सिंहले बालबालिका भविष्यका कर्णधार भएकाले हाम्रा व्यवहार बालमैत्री हुन जरुरी  भएको बताए । हेटौंडा उपमहानगर सम्भावना बोकेको पालिका भएकाले यसका गतिविधिहरु बालमैत्री हुन जरुरी रहेको उनको भनाइ थियो । उनले बालमैत्री पालिका घोषणा गरेपछि अझ उपमहानगरपालिकाको जिम्मेवारी र दायित्व थपिएको बताए । 

बिहीबार हेटौंडा उपमहानगरपालिकाको ५६ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पालिकालाई बालमैत्री घोषणा गरिएको हो । मुलुकभर ११ वटा उपमहानगरपालिका छन् । बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको यो नै पहिलो हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले बालमैत्री पालिका घोषणा गर्न उपमहानगरपालिकाले गरेका कामबारे जानकारी गराएका थिए  । 

कार्यक्रममा वाग्मती प्रदेशका कावा मुख्यमन्त्री प्रकाश श्रेष्ठ, संघीय सांसद दीपकबहादुर सिंह, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामीलगायतले बोलेका थिए । 

कार्यक्रममा १९ वटै वडाका टोल विकास संस्था, ७ कक्षादेखि ९ कक्षासम्मका छात्रछात्रा, विभिन्न समुदायका बासिन्दा आ–आफ्ना भेषभुषा र झाँकीसहित र्‍यालीमा सहभागी भएका थिए । हेटौंडाको बुद्धचौकबाट पिप्ले क्याम्पा रंगशालासम्म र्‍याली निकालिएको थियो । 

बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको हो । ४३ वटा सूचकको लक्ष्य शतप्रतिशत पूरा भएको र ४ सूचकमा ९९ प्रतिशतभन्दा बढी नतिजा हासिल गरिएको महानगरले जनाएको छ । ३ वटा सूचकमा ९० प्रतिशतभन्दा बढी र एउटा सूचकमा ८८ प्रतिशत नतिजा हासिल गर्दै  उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिएको हो । 

२०७९ सालको घरधुरी तथ्यांक संकलन सर्वेक्षणअनुसार हेटौंडा उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार एक सय ९५ बालबालिका छन् । २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । कुल बालबालिकाको संख्यालाई आधार मान्दा ५२.०८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेका छन् । उपमहानगरपालिकामा टोलस्तरीय २ सय ६५ र विद्यालयस्तरीय १ सय ६ वटा गरी ३ सय ७१ वटा बाल समूह छन् भने १९ वडास्तरीय र एउटा नगरस्तरीय गरी २० वटा बाल सञ्जाल छन् ।

'बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी' भन्ने मूल नारासहित निकृष्ट बालश्रममुक्त, बालविबाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको हो । यसअघि १९ वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेको छ ।

मकवानपुरका १० पालिकामध्ये यसअघि मकवानपुरगढी, मनहरी र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । बालमैत्री घोषणाका लागि २०७९ भदौ ५ बाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र विविध बालमैत्री कार्यक्रमहरु सुरु गरिएको मेयर मीनाकुमारी लामाले जानकारी दिइन् ।

प्रताप

Link copied successfully