प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पनि पक्राउ

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Aneraswaviyu leader Joshi who beat the police was also arrested

काठमाडौँ — काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशी पनि पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए । 

माघ २७ गते काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका-५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारालाई पक्राउ गरिएको थियो । उनीहरूले गत माघ २४ मा राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए । पक्राउ परेकाहरू अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता हुन् । 

घटनाको सीसीटीभी फुटेजमा जोशी देखिए पनि प्रहरीले जोशीलाई अनुसन्धानको दायरामा ल्याएको थिएन । सरकारको नेतृत्व गरिरहेको एमालेको संरक्षणमा कारबाहीको दायरमा नल्याइएको भन्दै आलोचना भएपछि प्रहरी जोशीलाई पक्राउ गर्न बाध्य भएको हो । 

क्यूआरटी मोटरसाइकलमा रहेका दुई प्रहरीलाई उनीहरुले कुटपिट गरेका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully