काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका– ५, कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा बुधबार ३ जनाको मृत्यु भएको छ । पिक्निकबाट फर्कंदै गरेको एसएस एकेडेमी चाबहिलको विद्यार्थी बोकेको बस ब्रेक फेल भई दुर्घटना हुँदा क्रिसल पुरी, सुरेश तामाङ र शुशांका डोटेलको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए ।
कपन बस्ने ११ वर्षका मोरङका क्रिसल पुरीको त्रिवि शिक्षण अस्पतालमा र भिम्सेनगोला बस्ने १४ वर्षका सिन्धुपाल्चोका शुशांका डोटेलको शंखरापुर अस्पतालमा मृत्यु भएको बोहराले जानकारी दिए । चाबहिल बस्ने २४ वर्षका सिन्धुपाल्चोकका सुरेश तामाङको नेपाल मेडिकल कलेजमा मृत्यु भएको थियो । तामाङ विद्यालयका शिक्षक हुन् ।
उनका अनुसार दुर्घटनामा ४० जना घाइते भएका थिए । विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो पिक्निकबाट फर्कने क्रममा ४:५० बजेको समयमा दुर्घटनाको भएको थियो । बसमा २ देखि ९ कक्षासम्मका विद्यार्थी थिए ।
घाइतेहरुको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बस विद्यार्थी छोड्न फर्पिङतर्फ जाँदै गर्दा चालक र १ विद्यार्थीको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । जुनकिरी इंग्लिस बोर्डिङको बा १ क ५६६४ नम्बरको बस सडकबाट १ सय ५० मिटर तल डल्लु खोलामा खस्दा ३५ वर्षका चालक राधाकृष्ण मगर र ८ वर्षका विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो ।
