कवाडी व्यवसायीप्रति काठमाडौं महानगरले ज्यादती गरेको छ : अध्यक्ष ठाकुर

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

Kathmandu metropolis has committed excesses against Kawadi businessmen: President Thakur

काठमाडौँ — लोसपाका अध्यक्ष महन्थ ठाकुरले काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीप्रति ज्यादती गरेको बताएका छन् । महोत्तरीको जलेश्वरमा स‌ञ्चारकर्मीसँगको भेटघाटमा ठाकुरले काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीहरूलाई विस्थापित गराउन खोजेको दाबी गरे ।

अध्यक्ष ठाकुरले कवाडी व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि अदालतको आदेशविरुद्ध समेत जबरजस्ती डोजर चलाउने र व्यवसायीहरूमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गर्ने काम भइरहेको भन्दै यस्ता आत‌ंक मच्चाउने काम हुँदै आएको बताए । 

कुनै पनि स्थानीय तहद्वारा ल्याइएको ऐन, कानुन, नियमावली वा मापदण्ड देशको संविधानभन्दा माथि हुन नसक्ने बताउँदै उनले नागरिकको संवैधानिक अधिकार खोस्ने ऐन, कानुन वा नियमावली स्वतः खारेज हुने बताए । 

उनले काठमाडौं महानगरपालिकाद्वारा नगर प्रहरी लगाएर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हनन रोक्न सरकारको ध्यानाकर्षणसमेत गरे ।

कान्तिपुर

Link copied successfully