काठमाडौँ — चाबहिलस्थित एसएस एकेडेमीका विधार्थी बोकेका दुई बस बुधबार नगरकोटमा पिकनिक खाएर फर्कदै थिए । बसमा थिए, ९२ जना विधार्थी । फर्किने क्रममा शंखरापुर नगरपालिका- ५ कात्तिकेस्थित मोडमा बा २ ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा पर्यो । प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा परेको बसमा कति विधार्थी थिए भन्ने खुलिसकेको छैन ।
प्रहरी प्रभाग साँखुका अनुसार घटना भएको हो, ४ बजेर ५० मिनेटमा । दुर्घटनामा परेको सुन्दरीमाई यातायातको बस चलाएका थिए, ३९ बर्षीय चालक मनिष माझीले । प्रहरीको प्रारम्भिक विवरणअनुसार ब्रेक फेल भएपछि बस अनियन्त्रित भएको थियो ।
प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले चालक मनिषलाई नियन्त्रणमा लिएको बताए । चालकले मादक पर्दाथ सेवन गरे/नगरेको विषयमा परिक्षण भइरहेको एसपी बोहोराले बताए । उनले घटनास्थलको अवस्था हेर्दा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बताए । 
दुर्घटनाको भिडियो सामाजिक संजाल फेसबुकमार्फत लाईभ गरेका मनोज डंगोलले आफुले घटना भएको थाह पाएपछि त्यहाँ पुगेको र त्यतिबेला डोजरले दुर्घटनाग्रस्त बस उठाउँदै गरेको दृश्य देखेको बताए । उनले भने, ‘घाईतेहरू रोइरहेका थिए । उद्धार कार्य जारी थियो ।’
