तिलोत्तमा — कांग्रेस महामन्त्री गगन थापाले नागरिकको मौलिक हक तलमाथि हुने गरी आफ्नो पार्टीले कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अवमूल्यन हुने गरी कांग्रेसले कुनै भुमिका नखेलेको बताए ।
बुटवलमा बुधबार भएको नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले नागरिकका मौलिक हक स्थापित गर्न कांग्रेसले लामो समय संघर्ष गरेकोले त्यसमा सम्झौता नगर्ने बताए ।
'हाम्रो पार्टी स्थापनादेखि नै समानुपातिक समावेशिताको सिद्धान्त अवलम्बन गरेको पार्टी हो,' उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीतालाई कांग्रेसले कहिल्यै छोड्दैन ।'
वर्तमान सरकार कांग्रेसले चाहेर र कांग्रेसको प्रयासका कारण गठन भएको नभई समय र परिस्थितिको उपज भएको महामन्त्री थापाको भनाइ छ । उनले यो तीन वर्षको अवधिलाई जनताको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्ने बताए । उनले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि संविधान संशोधन गर्न लागिएको दाबीसमेत गरे ।
