एकै जिल्लाबाट एक वर्षमा १० करोडको छुर्पी र घिउ

वार्षिक ४५ हजार २ सय केजी घिउ र ५५ हजार ५ सय केजी छुर्पी काठमाडौं निर्यात

माघ ३०, २०८१

अनिश तिवारी

10 Crores of Churpi and Ghee in one year from the same district

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका–५ भन्ज्याङ खर्कका प्रेमबहादुर तामाङले चौंरीपालन गरेको १५ वर्ष पुग्यो । उनले गोठमा खाँबोभरि छुर्पी झुन्ड्याएका छन् । डेक्चीमा दूध र ठेकीमा मोही राखेका छन् । लेकको गोठमा ५० चौंरी र केही याक छन् । ४७ वर्षीय तामाङले छुर्पी, चिज र घिउ बेचेर वर्षमा पाँचदेखि आठ लाखसम्म कमाउने गरेका छन् । 

बाह्रबिसेको घुम्ती, भन्ज्याङ, उरमेन्दो, लासे, खनक्पा खर्क, पलाँती ज्याङदाङ खर्क चौंरीपालनका लागि कहलिएका ठाउँ हुन् । जुगलको अन्तिम गाउँ मानिने तेगाका ४३ वर्षीय धर्के शेर्पाले पनि ३० वटा चौंरी पालेका छन् । ‘लेकमा चौंरी पाल्न सजिलो छैन, तर कमाइ राम्रै छ,’ १० वर्षदेखि चौंरी पाल्दै आएका उनले भने । वार्षिक छुर्पी र घिउ बेचेर ६ लाखसम्म कमाउने उनले बताए । 

चीनसँग सीमा जोडिएको भोटेकोशी–४ फुल्पिङकट्टीमा रहेको माथिल्लो लेकाली यारमालाका ५७ वर्षीय तेमछाङ शेर्पा २० वर्षदेखि चौंरीगोठ सम्हालिरहेका छन् । उनको गोठमा ४३ वटा चौंरी र याक छन् । छुर्पी र घिउ बेचेर वर्षको ८ लाख कमाउने उनले बताए । 

बाह्रबिसे नगरपालिकाका पशु विकास शाखा प्रमुख पीताम्बर घिमिरेका अनुसार पालिकाबाट वार्षिक १० हजार केजी घिउ र १३ हजार केजी छुर्पी उत्पादन हुने गरेको छ । जिल्लाको भोटेकोशी, जुगल, हेलम्बु, पाँचपोखरी थाङपाल, त्रिपुरासुन्दरी, लिशंखुपाखर गाउँपालिका र बाह्रबिसे नगरपालिकाका लेकमा चौंरी पाल्ने गरिएको छ । सबैभन्दा बढी जुगलबाट वार्षिक १५ हजार केजी घिउ र १८ हजार केजी छुर्पी उत्पादन हुने गरेको छ । छुर्पी एक हजार र घिउ नौ सय ५० रुपैयाँ किलोका दरले बिक्री भइरहेको छ । 

जिल्लाका अधिकांश चौंरीपालक आबद्ध भएर भन्ज्याङ चौंरीपालक समूह गठन गरेका छन् । समूहले छुर्पी र घिउ संकलन गरेर काठमाडौंमा बिक्री गर्दै आएको छ । स्थानीय तहका कृषि तथा पशु शाखाका अनुसार जिल्लाभरबाट वार्षिक ४५ हजार दुई सय केजी घिउ र ५५ हजार ५ सय केजी छुर्पी काठमाडौं निर्यात हुने गरेको छ । चौंरीको घिउ र छुर्पीबाट जिल्लामा वार्षिक ९ करोड ८४ लाख ४० हजार रुपैयाँ भित्रिने गरेको अनुमान छ । 

पहिरो, भूक्षय जस्ता कारणले चौंरी हिँड्ने बाटो अवरुद्ध हुनुका साथै लेकमा पानी र घाँस अभावले चौंरी र डिमुपालक निरुत्साहित हुँदै गएका छन् । गतसाता गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने सीमाक्षेत्रको लिपिङ वन, जुगलको किप्चेलगायत सामुदायिक वनमा डढेलोले ८२ हेक्टर क्षेत्र सखाप बनाएपछि चौंरीपालक दिक्क भएका छन् । हाल जिल्लाभर झन्डै ४ सय ५० भन्दा बढी चौंरीगोठ छन् । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको तथ्यांकअनुसार दुई वर्षअघिसम्म यहाँ एक हजार गोठ थिए । आगलागी, बाघभालुबाट नोक्सानी बढिरहेको लगायत कारणले चौंरीपालन व्यवसाय घट्दै गइरहेको छ । 

चीन जोड्ने सीमागाउँ भोटेकोशी–२ तातोपानीको लिपिङ लेक, मार्मिङको गोल्ची, घोर्थलीको बिगु दोलंसा, लिस्तीकोटको बगाङ, छगामसम्म चौंरी पाल्ने गरिएको छ । उता जुगल–३ तेम्बाथाङ, नाकोते, पाँचपोखरी थाङपाल, हेलम्बुका खर्कमा पनि चौंरीपालन हुन्छ । चौंरी पाल्ने जिल्लाभर भए पनि डिमु पाल्ने भेट्न मुस्किल पर्ने हेलम्बु–१ का गोठाला जम्लिङ शेर्पाले बताए ।

‘चौंरीपालनमा सरकारले गरेको बेवास्ताका कारण गोठाला निरुत्साहित हुँदै छन्, यसबारे गहन रूपमा बुझ्न जरुरी छ,’ डिमु हुर्काउँदै आएका उनले भने । उनका अनुसार वैदेशिक रोजगारी र पुस्ताबाट हस्तान्तरण नहँॅदा चौंरी, डिमु पाल्ने क्रमशः कम हुँदै गएका छन् ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully