काठमाडौँ — सामाजिक सञ्जालमा यतिखेर एउटा सीसीटीभी फुटेज भाइरल छ, जसमा सडक सुरक्षामा खटिएका प्रहरीलाई केही युवाले कुटपिट गरेको देखिन्छ । यो भिडियो हो, बिहीबार मध्यरातमा ठमेलमा भएको हातपातको ।
सीसीटीभी भुटेजका आधारमा प्रहरीले गरेको पहिचानअनुसार हातपात गर्नेहरू प्रमुख सत्तारुढ दल एमालेनिकट अनेरास्ववियुका केन्द्रदेखि क्याम्पसका नेताहरू भएको खुलेको छ ।
प्रहरी वृत्त दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरी हबल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र विष्ट मोटरसाइकलमा त्यसतर्फ जाँदै गर्दा ठमेलमा हातपात भएको प्रहरीले जनाएको छ ।
घटना अमृत साइन्स अस्कल क्याम्पस परिसरबाहिर भएको हो । हातपातमा संलग्न ५ जना अमृत साइन्स क्याम्पसका होस्टलमा बस्ने विद्यार्थी हुन् । उनीहरू जबरजस्ती वर्षौंदेखि होस्टलमा बस्दै आएको क्याम्पसले जनाएको छ ।
‘हातपात गर्नेमध्ये दुई पक्राउ परेका छन् र उनीहरूमाथि अभद्र व्यवहारमा अनुसन्धान हुँदैछ,’ काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले भन्छन्, ‘भिडियोमा भएको कुटपिटको दृश्यका साथै घाउ जाँच केस फारममा उल्लेखित विवरणलाई अनुसन्धानका लागि नोटिसमा लिइएको छ ।’
फारममा प्रहरीमाथि कुटपिट भएको र प्रहरीको पोसाकसमेत च्यातिएको उल्लेख भएको उनले बताए ।
अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी, अस्कल क्याम्पसका स्ववियु सहसचिव रमेश फुलारा, स्ववियु सदस्य दिनेश सिग्देल, अनेरास्ववियु क्याम्पस कमिटीका सचिव गोपालजंग शाही र क्याम्पस कमिटी सदस्य सौजन शाही हातपातमा संलग्न रहेको दरमार्ग प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा ड्युटीमा गइरहेका प्रहरीले मापसे गरेर होहल्ला गर्दै हिँडेका विद्यार्थी नेताहरूलाई सम्झाउन खोज्दा उल्टै आक्रमण गरेको प्रहरीको भनाइ छ । सार्वजनिक भएको सीसीटीभी फुटेजमा उनीहरूले प्रहरीलाई कुटपिट गरेको, त्यस क्रममा प्रहरीको पोसाकसमेत च्यातिएको र मोटरसाइकलसम्म लडाइदिएको देखिन्छ ।
प्रहरीमाथि आक्रमण गरिसकेपछि उनीहरू अस्कल क्याम्पसको होस्टेलभित्र छिरेका थिए । घटनामा संलग्नमध्ये फुलारा र सिग्देलाई प्रहरीले प्रक्राउ गरेको छ । गोपाल शाही र सौजन शाही भने फरार छन् ।
२०७९ को स्ववियु निर्वाचनमा अस्कल क्याम्पसको अध्यक्षमा पराजित जोशी भने क्याम्पसमा नै रहको एक विद्यार्थीले बताए । यसअघि पनि उनीमाथि क्याम्पसको लेटरप्याड दुरुपयोग गरी फर्जी विद्यार्थीको मेरिट सार्वजनिक गरेको आरोपसमेत लागेको थियो ।
