खेलकुदमन्त्री चौधरी भन्छन् : टाइपमा त्रुटिले 'श्री ५ को सरकार' भयो 

माघ २९, २०८१

कान्तिपुर संवाददाता

Sports Minister Choudhary says: Typing error has resulted in 'Government of Mr. 5'

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले टाइपमा त्रुटि भएकाले नेपाल स्काउटको नियमावलीमा 'श्री ५ को सरकार' हुन गएको स्पष्ट पारेका छन् । सोमबार उनले नेपाल स्काउटलाई पत्र लेख्दै नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संशोधन २०८१) को अनुसूची ४(क) को १ र ४(ख) को ४ मा टाइपमा त्रुटि भई नेपाल सरकारको सट्टा 'श्री ५ को सरकार' हुन गएको बताएका छन् । 

स्काउट राष्ट्रिय परिषद्‍का अध्यक्षसमेत रहेका मन्त्री चौधरीले पठाएको पत्रमा भनिएको छ, '...श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ भाग - १ धारा-१ मा यो संविधान नेपालको मूल कानुन हो, यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ भन्ने व्यवस्थाविपरीत रहेको पाइएकाले उक्त त्रुटि सच्चयाई नियमावलीमा उल्लेखित श्री ५ को सरकार लेखिएको शब्दावलीको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ ।'

मन्त्री चौधरीले 'श्री ५ को सरकार' लेखेपछि सामाजिक सञ्जालसम्म सदनसम्म उनको आलोचना भएको थियो । सोमबार राष्ट्रिय सभामा माओवादी सांसद मायाप्रसाद शर्माले मन्त्री चौधरीसँग यसबारे जवाफसमेत मागेका थिए । ‘युवा तथा खेलकुदमन्त्रीज्यूको कार्य सम्पादन अनुसूची ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानुनअनुसार ल्याएको भन्ने कुरा आएको छ । यो के हो ? ०४७ सालको संविधान कार्यान्वयन हो कि ? संशोधन भइसक्यो बुझ्न चाहन्छु,’ सांसद शर्माको प्रश्न थियो । 

Sports Minister Choudhary says: Typing error has resulted in 'Government of Mr. 5'देश गणतन्त्रात्मक व्यवस्थामा गइसकेपछि पनि नेताहरूले विभिन्न समयमा भाषण र दस्ताबेजमा 'श्री ५ को सरकार' भन्ने गरेका छन् । २०७७ साल माघमा तत्कालीन खानेपानी मन्त्री मणि थापाले एउटा भाषणमा 'श्री ५ को सरकार' भनेका थिए । तत्कालीन नेकपाका नेतासमेत रहेका उनले  सुर्खेतमा आयोजित एक कार्यक्रममा भनेका थिए, 'सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा …ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरूलाई लाल सलाम भन्न चाहन्छु ।' सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि थापाले भूलवश त्यस्तो हुन गएको भन्दै माफी मागेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully