दोलखा — माघ २८ गते बिहान ९ बजे वैत्यश्वर गाउँपालिका–६ नाम्दूमा एक युवकले धारिलो हतियार देखाएर एक महिलालाई आक्रमणको प्रयास गरेको सीसीटीभी फुटेजमा देखिन्छ । सोमबार बिहान त्रिपुरा क्याम्पसकी प्राध्यापक उषा तामाङ लामा अध्यापन गराएर घर फर्कने क्रममा क्याम्पसको गेट नजिकै ती युवकले सुरुमा हुत्याउँछन् ।
त्यसपछि उषामाथि पछाडि कम्मरमा लुकाएको खुकुरी देखाएर हिर्काउन खोजेको सीसीटीभी फुटेजमा देखिन्छ ।
लगत्तै सडक पारिबाट एक व्यक्ति उषा र ती युवकको घम्साघम्सी भएको ठाउँमा आइपुग्छन् । ती व्यक्तिले ती युवकलाई यसो नगर्न भन्दाभन्दै वरपरका स्थानीय आउन थाल्छन् । स्थानीय जम्मा हुनै लाग्दा उषाले आफूमाथि हतियार प्रहार गर्ने खोज्ने युवकलाई ढुंगाले हिर्काउँछिन् । त्यसलगत्तै अन्य स्थानीयले पनि ती युवकलाई ढुंगाले हिर्काउँछन् । त्यत्तिकैमा ती युवकले पनि स्थानीयमाथि ढुंगा प्रहार गरेको भिडियो हाल सामाजिक संजालमा भाइरल बनेको छ ।
वैत्यश्वर माध्यमिक विद्यालयमा शिक्षिकाका रुपमा कार्यरत उषा उक्त क्याम्पसमा पनि अध्यापन गराउने गरेकी थिइन् । उषामाथि बिहानै हतियार प्रहारको प्रयास गर्ने युवक उनकै आफन्त हुन् । उषालाई आक्रमण गर्ने भीमेश्वर नगरपालिका–५ का सुन्दर अधिकारी उनकी फुपूका छोरा हुन् । उषा र सुन्दर मामा फुपूका छोराछोरी हुन् । उषा र सुन्दर हजुरआमा एकै हुन् । उनै हजुरआमाको जग्गाको विवादका कारण उषामाथि सुन्दरले आक्रमण गरेको प्रहरीले बताएको छ ।
हजुरआमाको जग्गा एकलौटी उषाका बुबाले हत्याउन खोजेको भन्दै सुन्दरले जिल्ला अदालतमा उषाका बुबा काजीमानविरुद्ध जालसाँजी र दूषित लिखत बदरको मुद्दा दाएर गरेका थिए । उक्त मुद्दा सुन्दरको पक्षमा फैसला आएको थियो । फैसलामा दुवै पक्षलाई अदालतबाट आधाआधा भागबन्डा गर्नु भन्ने थियो । उक्त फैसलापछि वडा कार्यालयमा दुवै पक्षबीच फैसलाअनुसार जग्गा बाँडफाँड गर्ने सहमति भएको स्रोतले बतायो । तर उषाले उक्त फैसला र सहमतिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि उनीहरुको परिवारबीच तनाव बढेको स्रोतले बतायो ।
उषालाई उनले सोही विषयमा हतियारसहित आक्रमणको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका निमित्त प्रमुख दाताराम अधिकारीले बताए । उच्च अदालतमा उक्त मुद्दा विचाराधिन रहेको छ । ‘सुन्दरले उषालाई जग्गा विवादकै विषयमा हतियारसहित आक्रमण गरेको देखिएको छ,’ उनले भने, ‘सुन्दर फरार रहेका कारण थप कुनै विषय खुल्न सकेको छैन ।’
उषाले आक्रमणपछि सीसीटीभी फुटेज लिएर आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । प्रहरीले आक्रमण गर्ने सुन्दरलाई पक्राउको तयारी थालेकै समयमा एकाएक सीसीटीभी फुटेज सामाजिक संजालमा बाहिरिएपछि उनी फरार भएको उनले बताए ।
‘सीसीटीभीको फुटेज कसले र किन सामाजिक संजालमा अपलोड गर्यो त्यो पनि अनुसन्धान हुन्छ,’ उनले भने, घटनाको मुख्य चुरोसम्म पुगेर कारबाही गर्नुभन्दा अघि नै सामाजिक संजालमा भिडियो भाइरल बनेपछि थप समस्या भएको हो ।
सार्वजनिक स्थलमा हतियारसहित आक्रमण गर्नेलाई कारबाही हुने उनले बताए । सुन्दर पक्राउपछि थप विषय खुल्ने प्रहरीले जनाएको छ । उनको खोजी भैरहेको छ ।
यसैबीच शिक्षकका संघ संगठनले शिक्षिका आक्रमण गर्ने युवकलाई पक्राउ गरेर कारबाही गर्न आग्रह गरेका छन् । संघ संगठनले विद्यालय, विद्यार्थी शिक्षकको सुरक्षा र यस्ता आक्रमण गर्नेलाई हदैसम्मको कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।
