काठमाडौँ — सोमबारदेखि फेरि नानीमैयाँ दाहालको चर्चा सुरु भएको छ । सत्ताविरुद्ध कुनै बेनाम पात्रलाई लोकप्रिय मतले जिताउनुपरे काठमाडौंको चुनावमा नानीमैयाँको नाम अनिवार्य आउँछ । तर यसपालि उनको चर्चाको कारण भने उनको मृत्यु भएको छ ।
गुमनाम पृष्ठभूमिबाट २०३८ को राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा ६५ हजार ७ सय ७७ मत ल्याएर रातारात चर्चा पाएकी उनै नानीमैयाँ सोमबार ९२ वर्षको उमेरमा महाप्रस्थान गरिन् । ‘नानीमैयाँ विद्रोही राजनीतिक प्रतिक्रियाको एक अभिव्यक्ति हो,’ नानीमैयाँको तिलस्मी उदय र त्यसपछिको गुमनाम जीवन देखेका प्रतिनिधिसभाका पूर्वसदस्य तथा लेखक नारायण ढकाल भन्छन्, ‘जनताले सत्तालाई व्यंग्य गर्नुपरे जसलाई पनि चुनिदिन सक्छन् र सत्ताका पात्रलाई विफल पारिदिन सक्छन् भन्ने उदाहरण उहाँले ल्याएको मत हो ।’
काठमाडौंको जोरपाटीमा जन्मे–हुर्केकी नानीमैयाँ गोठाटार गाउँ पञ्चायतको २०२९ सालको चुनावमा उपप्रधानपञ्च थिइन् । तर त्यसले उनलाई राजनीतिक परिचय दिएको थिएन । २०३६ सालको जनमतसंग्रहपछि राजाले २०३८ सालमा गराएको राष्ट्रिय पञ्चायतको चुनावमा नानीमैयाँले उम्मेदवारी दिँदा कमैले उनलाई चिन्दथे । त्यति बेलाका लोकप्रिय नेता जोगमेहर श्रेष्ठभन्दा ३६ हजार बढी ल्याएर नानीमैयाँले चुनाव जितेकी थिइन्, तब एकाएक देशभर नै उनको नाम गुन्जिएको थियो ।
‘उहाँलाई पञ्चायतविरोधीले पनि सघाएकाले त्यतिका भोट आएको थियो,’ नानीमैयाँको मावली गाउँ मूलपानीका बासिन्दा ढकाल भन्छन्, ‘गाउँको जनबोलीमा नडराईकनै मनका कुरा जस्तै ठालूका अघिल्तिर पनि राख्न सक्ने उहाँको शैली त्यतिखेर निकै चर्चित भयो ।’
नानीमैयाँ मूलपानीकै ढकालहरूकी भान्जी थिइन् । मावली गाउँ बरोबर आइरहन्थिन् । त्यसैले ढकाल र उनका दामली युवाहरूप्रति नानीमैयाँको राम्रो सद्भाव थियो । ‘हामी पञ्चायतविरुद्ध भूमिगत संगठनको तयारीमा थियौं । पुस्तकालय स्थापना गरेर गाउँमा जनचेतना विस्तार गर्ने योजना बुनिरहेका थियौं,’ ढकाल भन्छन्, ‘उहाँ राष्ट्रिय पञ्चायतको सदस्य भएपछि हामीलाई पुस्तकालय स्थापना गर्न जस्तापाताको प्रबन्ध गरिदिनुभयो, यो त्यतिबेलाका लागि हामीलाई मिलेको ठूलो सहयोग थियो ।’
कसैले दुःख पाए वा कोही अन्यायमा परे तिनको साथ लाग्ने र ठालु ठानिएका पञ्चायतका नेता र मन्त्रीहरूलाई ठाडै गाली गर्ने नानीमैयाँको साहस गजबको भए पनि शैली राजनीतिक नभएको ढकालको टिप्पणी छ ।
‘ठाडो मिजासको भएकाले उहाँ राजनीतिमा जम्नचाहिँ सक्नुभएन, पछि २०४३ सालमा चुनाव हुँदा उहाँको जनमतै जफत भयो,’ ढकाल भन्छन्, ‘त्यसपछि उहाँ फेरि राजनीतिमा आउनुभएन, उहाँको नाम भने सम्झनामा रहिरह्यो ।’ नानीमैयाँ राष्ट्रिय पञ्चायत सदस्य भएका बेला बौद्धमा बसेका शरणार्थीहरूको समस्या समाधान गर्न रामहिटीमा जग्गा मिलाउने काममा पनि अघि सरेको र जग्गा मिलाएको सम्झना ढकाललाई छ ।
ढकालका अनुसार नानीमैयाँको बिहे सानैमा भएको थियो । सन्तान जन्मनुअघि नै कलिलै वयमा पतिको मृत्यु भएपछि आजीवन विधवा भएरै उनले जीवन गुजारिन् । पछि २०४३ को चुनावमा नानीमैयाँले मत पनि ४३ सयमात्रै पाइन् । ‘उहाँ पञ्चायतको जमानामा निर्दलीय चुनावमा विजयी हुनुभएको थियो तर बहुदलको कहिल्यै विरोध गर्नुभएन,’ ढकालले भने ।
तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य प्रकाशचन्द्र लोहनी नानीमैयाँलाई खरो स्वभावकी नेताका रूपमा सम्झिन्छन् । नानीमैयाँले राष्ट्रिय पञ्चायतमा निर्धक्कसँग आफ्ना कुरा भनेर सदनै थर्काएको सम्झना उनलाई अझै छ । ‘उहाँ स्पष्ट वक्ता हुनुहुन्थ्यो, कसैसँग नडराउने उहाँको स्वभाव थियो, देखेको कुरा धक नमानी बोल्नुहुन्थ्यो,’ लोहनी भन्छन्, ‘तत्कालीन सदनमा उहाँको बलियो उपस्थिति थियो ।’
