काठमाडौँ — दलविहीन पञ्चायत प्रणालीमा राष्ट्रिय व्यवस्थापिकाको रुपमा एउटा ‘राष्ट्रिय पञ्चायत’ रहन्थ्यो । २०१९ सालमा जारी संविधानमा तेस्रो संशोधनपश्चात् सो सभामा जनताबाट निर्वाचित ११२ र राजाबाट मनोनित २८ सदस्य रहने व्यवस्था गरिएको थियो । ३८ जिल्लामा एउटा र ३७ वटा जिल्लामा दुई निर्वाचन क्षेत्र तय गरिएको थियो । दुई निर्वाचन क्षेत्र भएका जिल्लामा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवार विजयी हुन्थे । काठमाडौं त्यस्तै जिल्ला थियो ।
२०३७ सालको जनमतसंग्रहपछि २०३८ वैशाख २७ मा सम्पन्न राष्ट्रिय पञ्चायतको निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बनेकी थिइन्- नानीमैयाँ दाहाल । उनी घडी चुनाव चिह्न लिएर उम्मेदवार भएकी थिइन् । उनीसँगै मन्त्री जोगमेहर श्रेष्ठ साइकल चुनाव चिह्न लिएर उम्मेदवार बनेका थिए ।
निर्वाचनमा दाहालले ६५ हजार ७ सय ७७ र श्रेष्ठले २९ हजार ७ सय ४१ मत पाएर राष्ट्रिय पञ्चायत सदस्य भएका थिए । अर्थात् दाहालले बहालवाला मन्त्रीभन्दा दोब्बरभन्दा बढी मत प्राप्त गरेकी थिइन् ।
त्यसअघि र पछि पनि नेपालमा थुप्रै निर्वाचन भइसकेका छन् । तर उक्त निर्वाचन र परिणामको भने सदाबहार चर्चा हुने गर्छ । विजयी उम्मेदवारका रुपमा दाहाल स्वयंको चर्चा र चित्रण हुनु त स्वाभाविक नै छ । तर काठमाडौंका मतदाताले बेलाबखत गर्ने अनौठो छनोटको सदाबहार प्रसंग बनेर उनको जित स्थापित भएको छ । त्यसैले त काठमाडौंलाई व्यंग्य गर्ने गरिएको छ- ‘नानीमैयाँ दाहाललाई जिताउने ठाउँ ।’
उनै दाहालको सोमबार निधन भएको छ ।
वास्तवमा त्यतिबेला दाहालले पाएको ‘घडी’ चुनाव चिह्न एउटा प्राविधिक विषय मात्रै थियो । दीर्घकालमा भने त्यस समयलाई बुझाउने एउटा बलियो विम्बका रूपमा समेत स्थापित भएको छ ।
प्रतिबन्धित दलद्वारा ‘हरियो बत्ती’
जनमत संग्रहमा पञ्चायत पक्षकै जित भएपछि बहुदलवादीमा रिस कायमै थियो । त्यसैले उनीहरू सत्ताप्रति रिसलाई रचनात्मक र शान्तिपूर्ण ढंगले अभिव्यक्त गर्ने सन्दर्भ खोजिरहेका हुन्थे । यसै मेसोमा आइपुगेको थियो- राष्ट्रिय पञ्चायतको निर्वाचन ।
पहिल्यै गाउँपञ्चायतको उपप्रधान भइसकेको भए पनि दाहाल मूलतः एउटा गैरराजनीतिक व्यक्तिजस्ती थिइन् । जानकारहरू भन्छन्- नानीमैयाँ दाहालको स्वभाव अनौठो थियो । उनी हक्की थिइन् । लडाकु स्वभावकी थिइन् । अभिव्यक्तिमा कथित सभ्यता र मर्यादाको मानकमा रहन्नथिन् । मन्त्रीदेखि प्रहरीसम्म, जोसुकैसँग आफ्नो सवाल प्रस्टसँग राख्थिन्, उस्तै परे हातपातमै उत्रिन पनि तम्सिन्थिन् । अफिसहरूमा गएर टेबलको सिसा फुटाल्थिन् । आफ्नो यस किसिमको स्वभावबारे उनले जीवित छँदै दिएका कैयौं अन्तर्वार्तामा समेत खुलेर बोलेकी छिन् ।
उनको उम्मेदवारीलाई पञ्चायतप्रति असन्तुष्ट व्यक्ति, समूह र पार्टीले अवसरका रूपमा लिएका थिए । त्यो यस अर्थमा कि, पञ्चायत कतिसम्म जीर्ण व्यवस्था भइसक्यो भने यहाँ नानीमैयाँ दाहालजस्ता व्यक्ति पनि जित्न सक्छन् भन्ने स्थापित गर्न सहज हुने उनीहरूको ठम्याइ थियो । अर्कोतर्फ, पञ्चायतअन्तर्गतका निर्वाचनको औचित्य छैन, बरु निरर्थक उपक्रम मात्रै हो भनेर सन्देश दिन सहज हुन सक्थ्यो ।
त्यसैले पञ्चायतविरोधीले नानीमैयाँ दाहाललाई जिताउने अभियान थाले । खासगरी काठमाडौंमा अध्ययनरत विद्यार्थीहरू, जो भूमिगत पार्टीसँग जोडिएका थिए, उनीहरूले सहयोग गरे । प्रचारप्रसार गरेर । त्यसको खर्च आफैं बेहोर्थे । दाहालको पक्षमा माहोल बनाए । यसका निम्ति प्रतिबन्धित दलका नेताहरूले ‘हरियो बत्ती’ बालिदिएका थिए ।
‘जो पूर्णरुपमा आउटसाइडर हो । जो त्यतिबेलाको सोपानतन्त्रमा कतै पनि छैन,’ त्यतिबेला विद्यार्थी रहेका र दाहाललाई समेत सघाएका लेखक तथा विश्लेषक सीके लाल भन्छन्, ‘उनको छविका कारण यस्तै व्यक्तिलाई राष्ट्रिय पञ्चायतमा पठाउनुपर्छ, यस्तै व्यक्तिले बरु ‘जहाजमा प्वाल’ पार्छन् भन्ने किसिमको सोचले काम गर्यो ।’
‘नेगेटिभ भोट’ दाहाललाई
काठमाडौंमा नानीमैयाँ दाहालको जितका लागि पञ्चायतभित्रको उदारवादी र अनुदारवादी खेमाको संघर्ष पनि सहायक बन्यो । जनमतसंग्रहपछि तथाकथित उदारवादी हाबी हुन्छन् भन्ने डरमा थिए, अनुदारवादीहरू । उदारवादीहरूलाई ‘चेक’मा राख्नका लागि दाहालजस्ता र्याडिकल उम्मेदवार उपयुक्त हुन्छ भन्ने थियो । त्यसैले उनीप्रति अचम्मको सहयोग जुटेको थियो । ‘उदारवादी पञ्चलाई यिनैले ठीक पार्छिन् भन्ने सोच अनुदारवादीमा थियो । व्यवस्थालाई नै उल्ट्याउने पात्र पनि हुन सक्छिन् भन्ने सोच बहुदलवादीमा थियो । दुवैको सहयोग उनलाई प्राप्त भयो,’ लाल भन्छन् ।
स्पष्ट छ, दाहालको जित उनको लोकप्रियता, एजेन्डा, संघर्ष वा सपनाको अनुमोदन थिएन । निर्वाचनमै होमिएको भए पनि उनी त्यसका लागि परिचित थिइनन् । यस प्रसंगले दिने सन्देश पर्याप्त छ- कुनै पनि व्यवस्था कट्टर र निरंकुश हुँदै गयो भने, समाजका चेतनशील समूह जोडिन नसक्ने बन्देज लाग्यो भने, आममानिसको संलग्नताभन्दा एक वर्गको हालीमुहाली गर्न संयन्त्र बन्यो भने त्यहाँ नानीमैयाँ दाहालजस्ता व्यक्तिले व्यवस्थाको ऐना देखाइदिन्छन् ।
काठमाडौं लगायतका सहरका मतदाताले अनौठो निर्णय लिनुको अतिरिक्त कारण पनि छ, जो अन्य निर्वाचनमा पनि पुनरावृत्त हुने गरेको छ । ‘सहरी क्षेत्रमा स्वतन्त्र आय भएका व्यक्तिहरू हुन्छन् । सानोतिनो आफ्नो काम गर्ने, व्यवसाय गर्ने, विद्यार्थीलाई सत्ताको खेलसँग धेरै मतलब हुँदैन । उनीहरूले आफ्नो रिस विद्रोही र ‘र्याडिकल’जस्तो लाग्ने उम्मेदवारमार्फत प्रकट गर्छन्,’ लालको भनाइ छ, ‘त्यस्ता उम्मेदवारले खासै केही गर्दैनन् भन्ने चाहिँ थाहा हुन्छ । तर यथास्थितिलाई एकपटक हल्लाउँछ भनेर आत्मरति लिने सोच हुन्छ ।’
दाहालको जित र त्यसपछि उनको राजनीतिक उपस्थितिलाई व्याख्या गर्न सकिने अर्को पक्ष पनि छ । त्यो हो- कुनै पनि व्यक्तिको राजनीतिमा उदय वा चुनावी जितमा दृश्य/अदृश्य प्राविधिक कारण हुनसक्छ, तर टिक्नका लागि भने आफ्नै सैद्धान्तिक र वैचारिक शक्ति चाहिन्छ । दाहालमा यो पक्षको अभाव थियो ।
राष्ट्रिय पञ्चायतमा पुग्नुअघि उनी सडकमा मान्छेकै मुद्दा बोकेर हिँड्थिन् । त्यो यस अर्थमा कि, प्रहरी तथा सरकारी कर्मचारीबाट सहयोग नपाएका व्यक्ति तथा समूह उनीसामु पुग्थे, उनी सम्बन्धित निकायमा गएर टेबल ठोक्थिन् । राष्ट्रिय पञ्चायतमा पनि उनी मूलतः संसदीय भाषाभन्दा सडकमा आममान्छेले बोल्ने भाषा नै बोल्थिन् ।
सोही राष्ट्रिय पञ्चायतका सदस्य रहेका तथा पछि मन्त्रीसमेत भएका बुद्धिमान तामाङ उनी आएपछि कर्मचारीहरूले हत्तपत्त काम गरिदिने गरेको सम्झिन्छन् । ‘मन्त्रालयमा उनी आउने भएपछि कर्मचारीहरू सचेत हुन्थे,’ उनी भन्छन् ।
उनको अडानबाट प्रभावित छन् तामाङ पनि । दरबारको खेलोफड्को रहने गरेको त्यस समयमा उनी आफ्ना अडानमा रहन्थिन् । त्यसको एउटा उदाहरण हो, लोकेन्द्रबहादुर चन्दविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उनको समर्थन । तामाङ सम्झिन्छन्, ‘चन्दविरुद्ध अविश्वासको प्रस्ताव राख्दा सुरुमा ४६ जनाले हस्ताक्षर गरेका थियौँ । पछि धेरैले फिर्ता लिए । पछि ‘मै हुँ’ भन्नेहरूले दबाब वा प्रभावमा फिर्ता लिए । ११ जनाले फिर्ता लिँदा पनि दाहाल तयार भइनन् । बाँकी ३५ जनालाई पनि सिंहदरबारमा महान्यायाधिवक्ता तथा राष्ट्रिय पञ्चायत अध्यक्षले बोलाएर प्रश्न गरेका थिए । उनी र मसँगसँगै बसेका थियौँ । त्यहाँ उनले सरकार ठीक नभएको भन्दै आफ्नो हस्ताक्षरको बचाउमा कड्केर बोलेको मेरो कानमा अहिले पनि गुञ्जिरहेको सम्झन्छु ।’
उनलाई व्यवस्थाविरोधी वा त्यतिबेलाका हालीमुहाली गरिरहेको वर्गप्रति असन्तुष्ट मतदाताले एकपटक जिताइदिए । यही ढंगले बेलाबखत कमजोर, विवादित वा व्यवस्थाकै विरोधीले पनि चुनाव जित्न सक्छन्, तर सधैं त्यस्तो हुँदैन । बरु चाँडो उदाउने शक्ति चाँडै सेलाउँछ । दाहालको हकमा पनि त्यही भयो । उनी २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा पराजित भइन् । २०४६ सालमा चलेको जनआन्दोलनमा उनी बहुदलको पक्षमा उभिइन् ।
बहुदलपछि २०५१ र २०५६ मा पनि उनी काठमाडौं १ बाट प्रतिस्पर्धी बनेकी थिइन् । तर क्रमशः ७० र ८६ मत मात्रै पाइन् ।
नानीमैयाँ दाहाललाई सन्दर्भ बनाएर फरक-फरक निर्वाचनमा उदाएका पात्र वा शक्तिलाई केलाउन सकिन्छ । कोही व्यक्ति एकपटक सांसद वा मन्त्री बन्न सक्छन्, त्यसमा प्राविधिक कारणसमेत हुन सक्छन् । जनताले पुराना शक्तिप्रति आफ्नो असन्तुष्टि दर्ज गर्न वा तत्कालीन व्यवस्थाको खिल्ली उडाउन अनौठा पात्र जिताउन सक्छन् । नानीमैयाँको जित पनि मुख्यगरी पञ्चायतलाई उसको औकात देखाइदिने काठमाडौंका जनताको प्रतिशोधको परिणाम थियो । चुनाव जिते पनि अयोग्य त उसै असान्दर्भिक हुँदै जान्छन् नै, आफूलाई योग्य ठान्नेले पनि आफ्नो जितलाई निरन्तरता दिने, राजनीतिमा टिकिरहने र आफ्नो सकारात्मक प्रभाव कायम राख्ने विषय भने बृहत् छ । उनलाई हेरेर हरेक जसो निर्वाचनमा उदाएका नेता वा पार्टीले पाठ सिक्न सक्छन् ।
नानीमैयाँ दाहालको जितको अर्को पक्ष पनि छ । जसलाई राजनीतिको एउटा सकारात्मक सन्दर्भका रुपमा चर्चा गर्नु वाञ्छनीय हुन्छ । उनी एक जना महिला उम्मेदवार थिइन् नै, २०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचन जित्दा केबल ३२ वर्षकी युवा पनि थिइन् । ४३ वर्षअघि राजनीतिमा संलग्न हुने विषय महिलाका निम्ति चुनौतीपूर्ण नै थियो ।
गणतन्त्रको १६ वर्षपछि समेत प्रत्यक्ष निर्वाचनमार्फत संसद्मा महिलाको उपस्थिति कसरी बढाउने भन्ने बहस चलिरहेको छ । दाहाल भने त्यतिबेलै जनताबाट प्रत्यक्ष चुनाव जितेर राष्ट्रिय व्यवस्थापिकामा पुग्नु महत्त्वपूर्ण घटनाक्रम र उपलब्धि हो । त्यति मात्रै होइन, उनले त बहालवाला मन्त्रीलाई फराकिलो मतान्तरले उछिनेर फराकिलै सन्देश दिएकी थिइन् ।
जनताबाट प्रत्यक्ष निर्वाचित ११२ जनाको सूचीमा दाहाल र भद्रकुमारी घले मात्रै महिला देखिन्छन् । त्यसैले पनि नानीमैयाँ दाहालको जितको अतिरिक्त अर्थ थियो ।
