काठमाडौँ — खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न पहिल गरिने बताएका छन् ।
खानेपानी मन्त्रालयले सोमबार आयोजना गरेको ‘समावेशी, जलवायु–उत्थानशील र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यक्रममा मन्त्री यादवले उक्त धारणा राखेका हुन् ।
मन्त्री यादवले भने, 'वास सेवाको सशक्तीकरणका लागि सबैभन्दा पहिले आफ्नै पार्टीको केन्द्रीयस्तरबाट कार्यान्वयन गराउने गरी प्रतिबद्धता व्यक्त गर्छु । साथै, सरकारको राष्ट्रिय प्राथमिकतामा पार्नका लागि पहल गर्नेछु ।'
मन्त्री यादवलले राजनीतिक दल, संघ, प्रदेश र स्थानीय तहका सरकारले एकताबद्ध भएर लिखित प्रतिबद्धता जनाए वास सेवा सुधारमा ठोस उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेका थिए । उनले तीनै तहका सरकारबीच सहकार्य मजबुत बनाउन नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघलगायतका संस्थाहरूसँग सहकार्य गर्दै नीति तथा रणनीतिहरू परिमार्जन गर्न आवश्यक रहेकामा जोड दिएका थिए ।
प्रदेशका खानेपानीसँग जोडिएका मन्त्री, नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघका प्रतिनिधिसँग पनि मन्त्री यादवले छलफल गरेका थिए । छलफलका क्रममा सहभागीहरूले सुरक्षित खानेपानी तथा सरसफाइका लक्ष्यहरू हासिल गर्न सबैले एकताबद्ध भएर काम गर्नुपर्ने र वास सेवालाई सुरक्षित, सबल, तथा समावेशी बनाउन निरन्तर प्रतिबद्ध रहनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा कर्णाली प्रदेशकी खानेपानीमन्त्री विजया बुढा, संघी खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, सातवटै प्रदेशका सचिवहरू, उपमहानिर्देशक रामचन्द्र काफ्लेलगायतको उपस्थिति थियो ।
