दलितमाथि दमन गर्न राज्य संयन्त्र नै परिचालन गरियो : प्रमुख सचेतक परियार

'दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेका कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलित घरबास उठिबास लाग्नुपर्ने?'

माघ २८, २०८१

कान्तिपुर संवाददाता

The state machinery was mobilized to oppress Dalits: Chief whip Pariyar

काठमाडौँ — रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्र परिचालन गरिएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक परियारले राज्यले संविधानविपरीत हरेक वर्ष दलित समुदायमाथि दमन र अन्याय गरिरहेको बताएका हुन् । 

'पैँतीस सय वर्षदेखि दलितलाई मान्छे हुन नदिएको र गैरदलितलाई चेतनशील मान्छे हुन नदिएको जात व्यवस्थाको कुरा राख्दैछु सभामुख महोदय । यो सदनमा सबै सम्मानित नेता हुनुहुन्छ । मार्क्सवादी आन्दोलनबाट खारिएर आएका नेता हुनुहुन्छ । तर यो राज्य संविधान मान्दैन । दलित समुदायलाई हरेक वर्ष घातक बनाउँछ विक्षिप्त बनाउँछ,' सांसद परियारले भने ।

व्यवस्था परिवर्तन गरेर संविधान निर्माण भइसक्दासमेत दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेकै कारण मारिनु परेको उनले सुनाए ।  'हामीले व्यवस्था परिपर्वतन गर्‍यौं, संविधान बनायौं तर आज दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेका कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलित घरबास उठिबास लाग्नुपर्ने अनि राज्यका संयन्त्र र संस्थानहरु र दलितलाई मान्छे हुन नदिनका लागि प्रयोग हुनुपर्ने ?,’ उनले भने ।

उनले दलित समुदायमाथिको निरन्तरको दमन र अन्यायका सम्बन्धमा सभामुखमार्फत सरकारको जवाफ माग गरे । 

कान्तिपुर

Link copied successfully