पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेश

माघ २८, २०८१

कान्तिपुर संवाददाता

Order to send former DIG Joshi to jail

रुपन्देही — सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

अदालतका ​स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको बताए । उनले पछि ठहरेबमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको बताए । प्रतिवादीले जानी जानी कसुर नगरेकाे आधार नदेखिँदा हाललाई थुनामा राख्नु भन्ने आदेश भएकाे उनले बताए ।

यो मुद्दामा पूर्वडीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतलाई प्रतिवादी बनाइएको छ ।

यसअघि नै रूपन्देही जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटी लिएर तारिखमा छोडेको छ ।

अदालतले सुप्रिम सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादी (लामिछाने) ले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी हाललाई धरौटीमा छोड्ने आदेश दिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully