कान्तिपुर टेलिभिजनका धमलासहित ४ पत्रकारलाई सुशासन पुरस्कार

माघ २८, २०८१

कान्तिपुर संवाददाता

Good governance award to 4 journalists including Dhamala of Kantipur Television

काठमाडौँ — कान्तिपुर टेलिभिजनका रमेश धमलासहित चार जना पत्रकारले यस वर्षको ‘सुशासन पुरस्कार’ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४ औं स्थापना दिवसको अवसर पारेर कान्तिपुर टेलिभिजनका धमलासहित नयाँ पत्रिका दैनिकका नवराज मैनाली, नागरिक दैनिकका टपेन्द्र कार्की र नमस्ते खोटाङ डट कमकी सविता अछामीलाई पुरस्कृत गरेको हो ।

पत्रकारिताका माध्यमबाट भ्रष्टाचार रोकथाम तथा नियन्त्रण र सुशासन प्रवर्द्धनमा योगदान पुर्‍याएबापत चार पत्रकारलाई सुशासन पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चारै जना पत्रकारलाई नगद र कदरपत्रसहित सम्मान गरेका हुन् ।

पुरस्कृत पत्रकारत्रय धमला, मैनाली र कार्की डेढ दशकदेखि सुशासन, सार्वजनिक प्रशासन, सुरक्षा र सामाजिक जनचासोलगायत विषयमा कलम चलाउँछन् । पत्रकार अछामी खोटाङलाई आधार बनाएर पत्रकारिता गरिरहेकी छन् । स्थापना दिवसकै अवसरमा अख्तियारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा लेखरचनामार्फत योगदान दिएको भन्दै लेखक सुदर्शन आचार्यलाई पनि पुरस्कृत गरेको छ । त्यस्तै नेपाल प्रेस डटकम र नेपाल समाचारपत्र दैनिकलाई सुशासन संस्थागतर्फ पुरस्कृत गरिएको छ ।

स्थापना दिवसकै अवसरमा अख्तियारले उत्कृत अनुसन्धान अधिकृतका रुपमा दुई अधिकृत र एकजना अधिकृतलाई अख्तियार सेवा पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षभरि भएका अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेबापत उपसचिव विष्णुराज बेलबासे र प्रहरी नायब उपरीक्षक (डीएसपी) कमलकुमार खड्कालाई उत्कृष्ठा अनुसन्धान अधिकृत र नापी अधिकृत रुबिना शाहीलाई अख्तियार सेवा पुरस्कार प्रदान गरिएको हो ।

अख्तियारले हरेक वर्ष माघ २८ मा स्थापना दिवस मनाउँदै आएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासनमा योगदान दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ सहित विभिन्न कानुनी आधारसहित अख्तियारले मुद्दाको अनुसन्धान, अभियोजन गर्दै आएको छ ।

राजनीतिक दबाब र प्रभावका कारण कतिपय अनुसन्धान निष्पक्ष र प्रभावकारी हुन नसकेको भन्दै अख्तियारको आलोचना पनि हुने गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully