५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता, जुम्लामा यस वर्षलाई ४५ लाख विनियोजन
जुम्ला — गुठिचौर–१ का भेडापालक किसान दलबहादुर बस्नेतले गत वर्ष १८ हजार रुपैयाँ गोठालो भत्ता पाए । डेढ सय भेडा पालेका उनी गोठालो भत्ता पाएपछि व्यवसायमा झनै हौसिएका छन् । ‘गोठालो भत्ताबापत पाउने रकमले भेडामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको छ,’ उनले भने ।
५० वटा भेडा पालेकी सिँजा–६ की सुवा रावत संकटमा पर्न थालेको व्यवसायलाई सरकारको आर्थिक सहयोग दिन थालेकाले खुसी लागेको बताउँछिन् । ‘सरकारी कर्मचारीले मात्र तलबभत्ता पाउँछन् भन्ने थाहा पाएकी थिएँ, भेडा पाल्दा पनि भत्ता पाइँदो रहेछ,’ उनले भनिन् । गोठालो भत्ताले किसानलाई निकै राहत दिएको उनको अनुभव छ । उनीजस्ता ६६ जना किसानले पहिलो पटक गोठालो भत्ता पाएका छन् ।
यो वर्ष ४५ लाख रुपैयाँ गोठालो भत्ता कार्यक्रमका लागि आएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । अहिलेसम्म जिल्लामा २ सय ७ किसानको आवेदन परेको छ । ५० भन्दा बढी भेडा पाल्ने किसानले गोठालो भत्ता पाउँदै आएका छन् । गोठालो भत्ता कार्यक्रमले किसानलाई राहत मिलेको पशु स्वास्थ्य शाखा जुम्लाका पशु चिकित्सक भीमप्रसाद तिमल्सेनाले बताए ।
‘भेडापालन गर्ने किसान बढेका छन्,’ उनले भने । जुम्लामा भेडा मात्र पाल्ने किसान १७ सयभन्दा बढी छन् । जिल्लामा ८८ हजार ३ सयभन्दा धेरै भेडा पालिएका छन् । ‘भत्ता कार्यक्रमले किसानलाई हौसला थपेको छ, योसँगै भौतिक संरचना निर्माण, खर्क सुधार कार्यक्रम र चरन क्षेत्र विस्तारमा समेत जोड दिनुपर्ने देखिन्छ,’ तिमल्सेनाले भने ।
सबैभन्दा धेरै भेडापालन पातारासी गाउँपालिकामा गरिएको छ । अहिले भेडालाई चरन क्षेत्र अभाव र रोगको संक्रमण फैलने डर छ । स्थानीय तहमा पशु तथा पन्छी क्षेत्रमा बजेट प्राथमिकतामा छैन । जिल्लामा अहिले पशु प्राविधिक ४० जना छन् । एक पशु प्राविधिकले ७ हजार ६८ भन्दा धेरै भेडाको रेखदेख गर्नुपर्ने बाध्यता छ । जिल्लाभर ६ पशु चिकित्सक छन् । हिमा, तिला र चन्दननाथ नगरपालिकामा पशु चिकित्सक छैनन् ।
