काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद्बाट कानुन निर्माण गर्न नसकिएको बताएका छन् । सरकार निर्माण र प्रधानमन्त्री चयनमा संसद् र राजनीतिक दलले जुन गतिका साथ काम गरेका छन्, त्यसरी नै विधेयकलाई टुंगोमा पुर्याउन नसकेको उनको भनाइ छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा महामन्त्री शर्माले संसद्को विधायिकी काममा राजनीतिक दलले योग्यता प्रस्तुत गर्न नसकेको बताएका हुन् ।
'संसद्को सबैभन्दा विधायिकी कर्ममा हामीले योग्यता राम्रोसँग प्रस्तुत गर्न सकिरहेका छैनौं । एकपछि अर्को प्रधानमन्त्री बनाउन, एकपछि अर्को सरकार बनाउन जतिको क्षमता नेता, दल र संसद्ले राखेको छ, त्यही गतिमा विधेयक पारित हुन सकेका छैनन्,' शर्माले भने, 'भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ मा आएको विधेयक टुंगोमा पुग्न सकेको छैन ।'
संसद्बाट कानुन निर्माण हुन नसकेकामा कुनै पनि दल दोषमुक्त नरहेको शर्माको भनाइ थियो । कांग्रेस, एमाले, माओवादी, रास्वपा सबै राजनीतिक दल सरकारमा गएका बेला कानुन निर्माणमा ढिलाइ भएको उनले बताए । भ्रष्टाचार निवारण, अख्तियारसम्बन्धी, शिक्षा, निजामती विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा उनको जोड थियो ।
