सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Demonstration against social media bill

काठमाडौँ — अनलाइन टिभी पत्रकार संघ नेपालले सामाजिक सञ्जाल विधेयक २०८१ तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

संघका अध्यक्ष जीवन भण्डारीले विधेयकमा राखिएका कतिपय प्रावधानले खबरदारी र आलोचना गर्ने नागरिकको अधिकार खोस्ने भएकाले फिर्ता लिन माग गरिएको बताए । उनले विधेयक तत्काल फिर्ता नलिए च्यातेर अवज्ञा गर्ने चेतावनीसमेत दिए । 

माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले 'सरकारले मुख थुन्दैछ लोकतन्त्र ह्याक हुँदैछ, आलोचना गर्ने अधिकार, खोस्न पाइँदैन होसियार, अभिव्यक्ति माथिको अंकुश, बन्दैछ सरकार निरंकुश' जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

संघले विधेयक फिर्ता गराउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउनेसम्मका कार्यक्रम गर्ने तय गरेको छ ।

प्रदर्शनप्रति एकता जनाउँदै नागरिक अगुवा तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आलोचना र खबरदारीलाई निस्तेज पार्ने गरी सरकारले अध्यादेश ल्याएको आरोप लगाए । उनले नेपालमा लोकतन्त्र रहन्छ भने यस्तो विधेयक नरहने र यस्तो विधेयक आयो भने लोकतन्त्र नरहने दाबी गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully