यद्यपि गत वर्ष फागुन १ गते उनले 'जनयुद्ध दिवस'को शुभकामना दिएका थिए
काठमाडौँ — एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले माओवादी युद्ध ‘हिंसा नै भएको’ बताएपछि विवाद र चर्चामा छन् । माओवादीको १० वर्षे सशस्त्र युद्धका एक नेतृत्वकर्ता थापाले यस्तो टिप्पणी गरेपछि माओवादी नेताहरूले चर्को विरोध गरेका छन् ।
माओवादी नेताहरूले थापाले ‘जनयुद्ध’लाई गलत व्याख्या गरेको भन्दै ‘समयले हिसाब किताब’ गर्ने चेतावनीसमेत दिएका छन् । माओवादी युद्धको ‘राप ताप’को बलमा नेताको रुपमा उदाएका थापाले माओवादी ‘जनयुद्ध’ को इतिहासलाई बंग्याउन खोजेको उनीहरूको आरोप छ ।
कुनै बेला ‘जनयुद्ध’ का नायक भएपनि एमालेमा गएपछि उनी ‘खलनायक’ का रूपमा प्रस्तुत भएको माओवादी नेताहरूको टिप्पणी छ । थापा चितवनमा २०७९ मा एमालेको दशौं महाधिवेशनबाट उपाध्यक्ष चयन भएका थिए भने अध्यक्ष केपी शर्मा ओलीको निकट रहेर काम गर्दै आएका छन् ।
सार्वजनिक रुपमा उनले कमै धारणा राख्छन् । पछिल्लो ओलीको विश्वासिला नेताको रुपमा पार्टीमा सक्रिय छन् । एमालेका एक नेताका अनुसार उनी पार्टी बैठकमा कमै बोल्छन्, बोल्नै परे ओलीको धारणामा शतप्रतिशत समर्थन गर्छन् ।
एमाले अध्यक्ष ओलीले माओवादी युद्ध ‘हिंसा’ नै भएकाले ‘जनयुद्ध दिवस’ मनाउनु गलत भएको बताउँदै आएका छन् । अघिल्लो माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारले ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि ओलीले त्यसको चर्को विरोध गरेका थिए ।
बिहीबार एमालेको कार्यक्रममा अछाम पुगेका थापाले ओलीकै शैलीमा माओवादी युद्धबारे टिप्पणी गरे । उनले ओलीले जयुद्धलाई हिंसात्मक द्वन्द्व भनेकोमा पनि आपत्ति नभएको समेत बताए ।
‘जनयुद्ध भनेको हिंसा नै हो । हिंसा भनेको रक्तपात हो, त्यहाँ मर्ने र मार्ने हुन्छ । त्यसकारण अध्यक्षले भनेको भनाइमा मेरो आपत्ति छैन । यो कुरालाई माओवादीले पनि मान्छ,’ थापाले जनयुद्ध दिवस मनाउनु गलत भएकोसमेत बताउँदै भने, ‘जनयुद्ध दिवस मनाउने होइन । कहीँ पनि दुनियाँमा त्यस्तो मनाइँदैन । माओवादीले पनि जनयुद्ध मनाउने भनेर स्टन्टबाजी गरेको हो ।’
उनले कुनै पनि युद्ध दिवस नभई गणतन्त्र दिवस मनाउनुपर्ने बताए । ‘हामीले त गणतन्त्र दिवस मनाउने हो । असोज ३ गते गणतन्त्र दिवस मनाइरहेका छौं,’ उनले माओवादीले आफ्नो सरकार हुँदा जनयुद्ध दिवस मनाउने निर्णय गलत भएको तर्क गरे ।यद्यपि गत वर्ष फागुन १ गते थापाले जनयुद्ध दिवसको शुभकामना दिएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, '२९औं जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिकाे लागि आफ्नाे प्राणकाे आहुति दिनुहुने महान सहिदहरूकाे स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु... । '
नेकपा गठन गर्दा जनयुद्धको बारेमा र नेपालमा भएका संघर्षहरूको बारेमा दस्तावेजमा ‘नेपालमा चलेको दश वर्षको जनयुद्धले लोकतान्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको’ उल्लेख गरिएको भन्दै आफूलाई सम्हाल्न खोजेका थिए । ‘मार्क्सवादी सबै क्रान्तिकारीहरूले युद्धद्वारा पनि समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छन् । हिंसा भनेको वर्ग संघर्ष हो । संघर्षको सर्वोच्च रूप हो’, उनले भने, ‘जनयुद्ध’ लाई सैद्धान्तिकरण गर्न खोजेका थिए ।
२०६५ मा माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकार बनेपछि थापा रक्षामन्त्री भएका थिए । उनकै सिफारिसमा तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाही गर्ने सिफारिस भएको थियो । सरकारले गरेको सिफारिसलाई तत्कालीन राष्ट्रपति रामवरण यादवले उल्ट्याइदिएका थिए । त्यसपछि प्रधानसेनापतिमा कटवाल कायम रहे । जसका कारण माओवादी सरकार नौ महिनामै ढलेको थियो ।
कटवाललाई कारबाही गर्ने सरकारको निर्णयमा थापाको मुख्य अडान थियो । त्यतिबेला तत्कालीन रथी कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाएर नेपाली सेनामा आफ्नो प्रभाव बढाउन खोजेको थियो माओवादीले । माओवादीकै शब्दमा ‘नेपाली सेनाको रुपान्तरण’ भन्ने शब्द प्रयोग गरेको थियो ।
२०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा गठन प्रक्रिया गलत भएको भन्दै एमाले र माओवादी ब्युँताइदिएपछि थापा एमालेतिर रहे । त्यसपछि उनको माओवादी ‘जनयुद्ध’ प्रति विस्तारै मोहभंग हुँदै आएको छ । माओवादीबाट अलग भए पनि बाबुराम भट्टराईले ‘जनयुद्ध’ सही भएको बताइरहेका बेला थापाले आलोचना गर्न सुरु गरेका छन् ।
माओवादी सचिव राम कार्कीले असली एमाले बन्ने पहिलो आधार ‘जनयुद्ध’ गलत भएको व्याख्या गर्नु भएकाले थापाले त्यसै गरेको बताए । ‘एमाले बन्नलाई के–के गर्नुपर्छ, बादलजीले सबै गर्नुहुन्छ,’ उनले भने, ‘एमालेको कोर टिममा पर्न जनयुद्ध गलत थियो भन्नै पर्यो । त्यो केवल हिंसा थियो भन्नै पर्यो ।’
थापा (बादल)लाई जनयुद्धप्रति मनमा केही मोह भए पनि एमाले अध्यक्षको बोली बोल्नु बाध्यता हुन सक्ने सचिव कार्कीको ठम्याइ छ । ‘त्यो युद्धको नेतृत्वमा रहेर काम गर्दा जनयुद्धप्रति मनको एउटा कुनामा अलिकति मोह हुनुपर्छ,’ उनले भने, ‘बादलजी बाध्यतामा पर्नुभयो वा आफ्नो राजनीतिक कला प्रयोग गर्नुभयो ।’ माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले ‘जनयुद्ध’ मा प्रत्यक्ष संलग्न भएकाले गिरफ्तार गर्नुपर्ने बताए ।
‘पूर्व माओवादी नेता रामबहादुर थापा बादलले जनयुद्ध लाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ– तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हालियोस् । किनभने उनले भनेको हिंसा उनी आफैं प्रत्यक्ष संलग्न भएर गरेका हुन्,’ उनले भनेका छन्, ‘हामीले त जनयुद्ध गरेका हौं, त्यो न्याय र परिवर्तनका लागि वर्ग संघर्ष थियो ।’
२०७५ जेठमा एमाले र माओवादी एकीकरण भएपछि उनी सचिवाल सदस्य भएका थिए । सशस्त्र युद्धका बेला माओवादी अध्यक्ष दाहालको निकट रहेका उनी त्यसको उत्तरार्ध (२०६०) मा भने ‘यौन विचलन’ प्रकरणमा कारबाहीमा परेका थिए । पार्टीमा दाहालले नेतृत्व केन्द्रकरण गरेको आलोचना गरेको, भूमिगतकालमा यौन विचलन आएको भन्दै उनलाई कारबाही भएको थियो । २०६० को चुनवाङ बैठकमा उनले आत्मालोचना गरेपछि उनको कारबाही फुकुवा भएको थियो ।
चर्चित चुनवाङ बैठकमा उनले रुँदै आफू चीनमा माओलाई नेतृत्वबाट हटाउन खोजेजस्तो आफू लिनप्याओ नभएको बताएका थिए । त्यसपछि जनआन्लोलन–२ सफल भएपछि उनी दाहालका विश्वासपात्र भएका थिए । माओवादीका एक नेताका अनुसार उनले पटकपटक दाहाल नेपालको मात्र नभए विश्वकै महान नेताको रुपमा व्याख्या गर्थे । उनले पार्टीभित्र अन्तरसंघर्ष सुरु गरेका नेता बाबुराम भट्टराईको चर्को आलोचना गर्थे ।
२०७४ को आम निर्वाचनका क्रममा एमाले अध्यक्ष ओली र थापाबीच हिमचिम बढेको थियो । पश्चिम नेपालको निर्वाचन कार्यक्रममा ओली र थापाबीच अन्तरंग कुराकानी भयो । थापाको कम बोल्ने, पार्टीको संस्थापन लाइनमा बोल्ने स्वभाव ओलीलाई मन पर्यो । निर्वाचनलगत्तै एमाले र माओवादी गठबन्धनले अत्यधिक बहुमत ल्याएपछि ओली प्रधानमन्त्री भए । ओलीकै रोजाइमा उनी गृहमन्त्री भए । उनी गृहमन्त्री भएका बेला उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, छोरा प्रतीक नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका थिए ।
२०७७ पुस, माघमा नेकपाभित्र चरम विवाद भइरहेका बेला ओली अति अप्ठ्यारोपछि थापाले साथ दिए । त्यसपछि उनी ओलीको नजरमा ‘सही’ नेताका रूपमा रहँदै आएका छन् । ओलीकै सिफारिसमा उनकी श्रीमती नैनकला थापा राष्ट्रिय सभा सदस्य छिन् । २०७७ जेठमा आफू प्रधानमन्त्री भएका बेला ओलीले नैनकलालाई सूचना प्रविधि मन्त्री नियुक्त गरेका थिए । त्यसको केही समयपछि सर्वोच्चको आदेशबाट खारेज भएको थियो ।
ओलीले २०७७ पुसमा संसद् विघटन गर्दा उनले सही थापेका थिए । जबकी त्यसबेला माओवादी पक्ष (दाहाल) र माधव नेपाल पक्षले गलत भएको भन्दै विरोध गरेका थिए ।
सशस्त्र युद्धका बेला ‘बादल’ उपनामले चर्चित थिए । सशस्त्र युद्धका मुख्य योजनाकार तत्कालीन महासचिव पुष्पकमल दाहाल, वरिष्ठ नेता मोहन वैद्य, बाबुराम भट्टराई भए पनि ‘बादल’ लाई सैन्य रणनीतिकार भनेर चित्रण गरिन्थ्यो । उनका बुवा भारतीय सेनामा भएकाले उनलाई माओवादी युद्धका सैन्य रणनीतिकार भनिएको थियो । तर सशस्त्र युद्धको बेला माओवादी ‘जनेसना’ परिचालनको जिम्माभन्दा बढी राजनीतिक भूमिकामा थिए ।
२०६९ असारमा माओवादी विभाजन भएपछि उनी र देव गुरुङ, पम्फा भुसाललगायत मोहन वैद्यतिर गएका थिए । वैद्यसँग पनि कुरा नमिलेपछि २०७३ जेठमा उनी माओवादीमा फर्किए । माओवादीले २०५२ फागुनम सशस्त्र युद्ध सुरु गर्नुअघि उनको कार्यक्षेत्र रुकुम–रोल्पा थियो ।
थापा ले ‘जनयुद्ध’ हिंसा नै भएको टिप्पणी गरेपछि केन्द्रीय सदस्य रञ्जित तामाङले कवितामार्फत् उनलाई खलनायकको रूपमा चित्रण गरेका छन् । उनले फेसबुकमा कविता पोस्ट यसको हिसाबकिताब हुने चेतावनीसमेत दिएका छन् ।
जनयुद्धका दर्बियान,
हाम्रा राम्रा योद्धाहरूको बलिदान भयो,
शान्ति प्रक्रियामा हामीले बादलहरूलाई गुमायौं,
बादलहरूको वैचारिक टाट पल्टाई,
जनयुद्धको अँध्यारो पक्ष हो,
जनयुद्ध रुपि कथाको खलनायक भएर देखापरे बादल ।
नायकहरूले नेतृत्व गरेको ‘‘जनयुद्ध’’ खलनायकहरूले
विरोध गरेर यसको महत्त्व घट्दैन, झन बढ्छ ।
माओवादी डिएनए घाँडो भएका बादलहरूको एमालेकरणका लागि जनयुद्धको सत्तोसराप ठिकै हो,
तर समयले बादलहरूसँग हिसाब खोज्ने छ,
बलिदानको जगमा हासिल महान उपलब्धिहरूले बादलहरूलाई सधैं गिज्याइरहने छ ।
तर बादल जी, हामीलाई जनयुद्धमाथिको तिम्रा विषबमन अस्वीकार्य छ ।
