भाजपाले केजरीवाललाई लगायो झाडु, २७ वर्षपछि दिल्लीमा

७० सदस्यीय विधानसभामा भाजपाको ४८ सिट, अघिल्लो चुनावमा ६२ स्थानमा जितेको आम आदमी २२ सिटमा खुम्चियो, कंग्रेस आई जितविहीन

माघ २७, २०८१

बुद्धिसागर मरासिनी

BJP sweeps Kejriwal, after 27 years in Delhi

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले दिल्ली विधानसभा चुनावमा दुईतिहाइ सिट जितेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो । यो जितसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । 

दिल्लीको सत्तारूढ आम आदमी (आप) २२ सिटमा खुम्चिएको छ । भ्रष्टाचारको सफाइ गर्ने भन्दै चुनाव चिह्न झाडु लिएको आपले सन् २०१३ मा २८ सिट, २०१५ मा ६७ सिट र २०२० मा ६२ सिट जितेको थियो । २०१५ मा जम्मा ३ सिट र २०२० मा ८ सिट मात्र जितेको भाजपाले यसपटक दुईतिहाइ सुरक्षित गरेको छ । 

तीन पटक दिल्लीका मुख्यमन्त्री बनेका अरविन्द केजरीवाल भाजपाका प्रवेश बर्मासँग ४ हजार ८९ मतान्तरले पराजित भएका छन् । पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित भएका छन् । जंगपुरा निर्वाचन क्षेत्रमा उनी भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् । वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन् । उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेकी हुन् ।

भाजपाको यो जितलाई लिएर प्रधानमन्त्री मोदीले ‘विकास र सुशासनको विजय’ भएको बताएका छन् । ‘म दिल्लीका प्यारा दिदीबहिनी र दाजुभाइलाई यस सानदार र ऐतिहासिक जनादेशका लागि नमन गर्दछु,’ एक्समा मोदीले लेखेका छन् । दिल्लीको विकासमा भाजपाले कसर बाँकी नराख्ने उनको भनाइ छ । 

केन्द्रमा प्रमुख प्रतिपक्षी दल रहेको भारतीय नेसनल कंग्रेसले भने कुनै पनि सिट जित्न सकेन । यसप्रति कटाक्ष गर्दै मोदीले देशको सबैभन्दा पुरानो राजनीतिक दलको राजधानीमा नै बिजोग भएको बताएका छन् । ‘भारतको राजधानीमा देशको सबैभन्दा पुरानो दलले लगातार ६ पटक आफ्नो खाता खोल्न सकेको छैन,’ भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले भने ।

 उनले केजरीवाल मुछिएको मदिरा प्रकरणबारे छानबिन हुने पनि बताएका छन् । ‘राजनीति बदल्छु भन्दै राजनीतिमा प्रवेश गरेका आपका नेताहरू नै भ्रष्टाचारमा डुबे, उनीहरूको घोषणा गलत सावित भएको छ । भ्रष्टाचारविरुद्ध लड्न जन्मेको पार्टी आज त्यसैमा डुबेको छ, यस पार्टीका मुख्यमन्त्री आज भ्रष्टाचार आरोपमा जेल परेका छन्,’ मोदीले भने ।

सन् १९९८ देखि २०१३ सम्म दिल्लीमा लगातार सरकार चलाएको कंग्रेस भ्रष्टाचारको आरोपपछि दिल्लीबाट पाखा लागेको थियो । त्यससँगै दिल्लीका जनताले आपलाई सरकारमा पुर्‍याएका थिए । तर १० वर्षपछि जनताले आपलाई पाखा लगाएर भाजपालाई रुचाएको चुनावी परिणामले देखाएको छ । 

देशको राजधानी भएका कारण पनि दिल्ली राज्यसभा निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए । सत्तारूढ दललाई पाखा लगाउँदै सन् १९९८ यता राजधानीको सत्ताबाहिर रहेको भाजपाले परिणाम आफ्नो पक्षमा निकालेको हो ।

यसअघि महाराष्ट्र र छत्तिसगढलगायतका राज्यका विधानसभा चुनावमा सोचेअनुसार सफलता हासिल गरेपछि भाजपाले सम्पूर्ण शक्ति दिल्ली चुनावमा लगाएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलगायतका केन्द्रीय नेता बारम्बार दिल्लीका चुनावी सभामा देखिएका थिए । पछिल्लो समय दिल्लीको चुनावी प्रतिस्पर्धा तीव्र बनेसँगै आपले भाजपामाथि मतदाता सूचीमा गडबडी गरेको, आचारसंहिता लागू हुँदा विभिन्न सामग्री वितरण गरेको लगायतका आरोप लगाएको थियो ।

आप प्रमुख केजरीवालले चुनावी हार स्वीकार गर्दै भाजपालाई बधाई दिएका छन् । ’जनताको फैसलालाई हामी पूर्णरूपमा विनम्रताका साथ स्वीकार गर्छौं,’ सामाजिक सञ्जालमा केजरीवालले भनेका छन् । 

राजधानी दिल्लीमा सार्वजनिक सुव्यवस्था, प्रहरी र भूमि व्यवस्थापनजस्ता विषयमा केन्द्र सरकारले नियुक्त गरेका लेफ्टिनेन्ट गभर्नरसँग निर्णयको अधिकार छ । शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबारे निर्णय लिने अधिकार भने राज्यसँग छ । केन्द्र र राज्य सरकार फरक–फरक दलका हुँदा अधिकार प्रयोगमा बारम्बार विवाद हुने गरेको छ ।

यसैकारण दिल्लीका चुनावी नारा राजनीतिकभन्दा बढी कल्याणकारी मुद्दामा केन्द्रित देखिने गरेका छन् । यसपटकको चुनावमा पनि भाजपा र आप दुवै दलले निःशुल्क स्वास्थ्य सेवा, सरकारी विद्यालयको शिक्षामा सुधार, महिलाका लागि भत्तालगायत मुद्दालाई जोडतोडका साथ उठाएका थिए । 

मोदी नेतृत्वको भाजपा सरकारले गत साता मात्र ल्याएको बजेटका केही प्रावधान दिल्लीको चुनावलाई लक्षित देखिन्थ्यो । भाजपाले मध्यम आय भएकालाई कर छुट दिने चुनावकेन्द्रित बजेट ल्याएको थियो । दिल्लीमा मध्यम आय भएकाको जनसंख्या उच्च रहेकाले दिल्ली विधानसभा चुनावमा आफूलाई फाइदा पुग्ने भाजपाको आकलन थियो । 

केजरीवाल २०१३ मा पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएर चर्चामा आएका थिए । २०१५ मा केजरीवाल ६४.१४ प्रतिशत मतसहित विजयी भएका थिए । २०२० मा भने उनले ६१.१ प्रतिशत मत पाएका थिए । २०१३ को चुनावमा दिल्लीका जनताले केजरीवालले अघि सारेका कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै दिल्लीको राजनीतिमा आप उदाएको थियो । 

२०२० को दिल्ली विधानसभा चुनावमा आप ६२ सिटमा विजयी भएको थियो । भाजपाले ८ सिट जितेको थियो । २०१५ को चुनावमा भने आपले ६७ सिट जितेको थियो । भाजपा ३ सिटमा सीमित भएको थियो । पछिल्लो समय भने केजरीवालसहित उनको दलका वरिष्ठ नेतामाथि भ्रष्टाचारको आरोप छ । भारतमा गत वर्ष भएको लोकसभा चुनावअघि केजरीवाल जेल परेका थिए ।

उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता भएको मामिलामा प्रवर्तन निर्देशनालय (ईडी) ले गत मार्च २१ मा पक्राउ गरेको थियो । पक्राउपछि विपक्षी दलले विरोधीलाई निसाना बनाउन मोदी सरकारले एजेन्सीको दुरुपयोग गरेको भन्दै आलोचना गरेका थिए । 

केजरीवाल गत सेप्टेम्बर १३ मा धरौटीमा रिहा भएका थिए । तर मुख्य न्यायालयले उनलाई मुख्यमन्त्री कार्यालयमा फर्कन र निर्णय गर्न रोक लगाएको थियो । रिहा भएको चार दिनपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । 

केजरीवालले २०१३ मा कंग्रेसकै समर्थनमा सरकार बनाएका थिए । पछि उनी कंग्रेसविरुद्ध भ्रष्टाचारलगायतका विषय उठाउँदै राजनीतिबाट उदाए । २०२४ को लोकसभा चुनामा उनी पुनः कंग्रेस नेतृत्वको ‘इन्डिया’ गठबन्धनमै सहभागी भए । गठबन्धनमा सकारात्मक परिणाम नआएपछि दिल्ली विधानसभा चुनावमा भने एक्लै मैदानमा उभिए । कंग्रेससँग गठबन्धन नभएकै कारण आप सत्ताबाट बाहिरिनुपरेको छ । 

प्रवेश बर्मा जसले केजरीवाललाई हराए

४७ वर्षीय प्रवेश बर्मा पूर्वमुख्यमन्त्री तथा भाजपाका पूर्वउपाध्यक्ष साहिब सिंह बर्माका छोरा हुन् । आप प्रमुखलाई पराजित गरेसँगै उनको नाम पनि मुख्यमन्त्रीका रूपमा चर्चामा आएको छ । ‘यसबारे दलले निर्णय गर्छ, मलाई मुख्यमन्त्री बनाउने हो भने म उनीहरूको माग पूरा गर्छु,’ गत जनवरीमा चुनावी अभियानका क्रममा ‘द इन्डियन एक्सप्रेस’ सँग कुरा गर्दै प्रवेशले आफ्नो सम्भावनाबारे भनेका थिए । 

BJP sweeps Kejriwal, after 27 years in Delhi

चुनावी प्रचारमा समर्थकले उनलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका थिए । ‘दिल्लीका सीएम कैसा हो, प्रवेश बर्मा जैसा हो’ नारा निकै चर्चित बनेको थियो । बर्माले भने ‘केजरीवाललाई हटाऔं, राष्ट्रलाई बचाऔं’ नारा अघि सारेका थिए । 

चुनावी अभियानमा उनले साबरमतीको जस्तै यमुना नदीमा रिभरफ्रन्ट बनाउने, झुपडीमा बस्नेलाई घर दिने, पूर्वाधार निर्माण गर्ने, ५० हजारलाई सरकारी जागिर, फ्लाइओभर र प्रदूषणमुक्त राष्ट्रिय राजधानी बनाउने लगायतका वाचा गरेका छन् ।

महरौलीबाट २०१३ मा दिल्ली विधानसभामा निर्वाचित बर्मा २०१४ देखि दुई कार्यकाल लोकसभाका सदस्य बने । तीन दशकदेखि भाजपामा सक्रिय बर्माले गत जनवरी मध्यमा आफ्नो चुनावी अभियान थालेका थिए । त्यसअघि उनले नयाँदिल्लीका झुपडी (झुग्गी झुपडी) मा बस्ने स्थानीयका आवश्यकता पत्ता लगाउन विभिन्न स्थानमा पुगेका थिए । 

‘झुग्गी झुपडी (जेजे) का धेरै मानिसले निःशुल्क पानी र बिजुली पाएका छैनन्, म यो खुलेर भन्न चाहन्छु, जो सफा पानी र निःशुल्क बिजुली पाइरहेको हुनुहुन्छ, उहाँहरूले कृपया केजरीवाललाई भोट दिनुहोस्, नपाउनेले भाजपालाई भोट गर्नॅहोस्,’ चुनावी सभामा उनले बारम्बार दोहोर्‍याउने गरेका थिए । भारतको दिल्लीमा करिब तीन लाख जेजे परिवार छन् । तीमध्ये ठूलो संख्या नयाँदिल्ली विधानसभा क्षेत्रमा छन् । 

गत डिसेम्बरमा आपले बर्मामाथि ‘भोट किन्न प्रत्येक महिलालाई ११ सय रुपैयाँ दिएको’ आरोप लगाएको थियो । त्यसको जवाफमा बर्माले आफ्ना बुबाको संस्थामार्फत उनीहरूलाई मद्दत गरिरहेको बताएका थिए । आफ्नो चुनावी अभियानका क्रममा बर्माले मुख्यमन्त्रीको सरकारी निवासको मुद्दा पनि उठाएका थिए । विपक्षीले ‘शिशमहल’ भन्ने मुख्यमन्त्री निवासको मोडल उनले आफ्नो निवासबाहिर पनि राखेका थिए । ‘केजरीवालले गएको ११ वर्षमा दिल्लीका लागि केही गरेनन्, तपाईंहरू सबै कोभिडबाट मर्दै गर्दा केजरीवाल आफ्ना लागि शिशमहल बनाउन व्यस्त थिए,’ बर्माले चुनावी सभामा भन्ने गरेका थिए ।

बुद्धिसागर मरासिनी मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully