कांग्रेस रहुन्जेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कानुन पास हुँदैन : महामन्त्री थापा

माघ २६, २०८१

कान्तिपुर संवाददाता

Laws restricting freedom of press and expression will not be passed as long as Congress is in power: Mahamantri Thapa

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा कांग्रेसको नेतृत्व रहुन्जेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने गरी कुनै पनि कानुन पारित नहुने बताएका छन् ।

वर्तमान सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा पेस गरेको भन्दै उक्त विधेयक जस्ताको त्यस्तै पारित गर्न नसकिने उनले बताए । शनिबार काठमाडौंमा भएको अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापाले कांग्रेस रहँदासम्म नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकको रक्षाका विषयमा धेरै चिन्ता लिन नपर्ने पनि बताए ।

'अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने गरी अहिलेको संसद्बाट कुनै पनि कानून पारित हुन सक्दैन । कांग्रेस अहिले मुलुकको सबैभन्दा ठूलो दल हो । हामी प्रेस स्वतन्त्रताको कुरामा, लोकतन्त्रको कुरामा, अभिव्यक्ति स्वतन्त्रताको कुरामा, विधिको शासनको पक्षमा स्पष्ट हौँ । यी कुराहरू नेपाली कांग्रेसका आधारभूत मूल्यमान्यताका विषय हुन् । यी विषयबाट कांग्रेस पछि हट्न सक्दैन,' उनले भने, 'कांग्रेस रहँदासम्म चाहे त्यो सत्तामा हुँदा होस् वा विपक्षमा हुँदा होस् । कुनैपनि अवस्थामा यी विषयहरूको बर्खिलाप हुने गरी कानून बन्न सक्दैन, बन्दैन । यसमा सबैले ढुक्क हुनुपर्छ ।'

उनले कांग्रेसको महाधिवेशनका विषयमा प्रश्न उठाउन थालिएको भन्दै त्यसबारे धेरै आशंका गर्नु उपयुक्त नभएको बताए । 'कांग्रेसको विधानबमोजिम अहिले सचिवालयले काम गरिरहेको छ । केन्द्रीय कार्यसमितिले काम गरिरहेको छ । विभागहरू सक्रिय छन् । अहिले कांग्रेस जहाँ छ, त्यहाँ देशका समस्याका विषयहरूमा छलफल भइरहेको छ । विचार उत्पादन गर्नै, चिन्तन गर्ने काम भइरहेको छ,' उनले भने, 'हामी चैतसम्म क्रियाशील सदस्यता नवीकरण गरिसक्छौँ । त्यसपछि ०८२ को अन्तिमसम्मदेखि ०८३ को सुरुवातसम्म पार्टीको सबै तहको महाधिवेशन भइसक्छ । अहिले नै महाधिवेशन हुँदैन कि भनेर आशंका गरिरहनुपर्ने अवस्था छैन ।'

कान्तिपुर

Link copied successfully