पोखरा — एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँग एकता सम्भव नरहेको बताएका छन् ।पार्टीको पहिलो गण्डकी प्रदेश अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीमा चरम व्यक्तिवाद, अहंकार, दक्षिणपन्थी भड्काव हावी हुँदासम्म पार्टी एकता फलिफाप नहुने बताए ।
‘कसै–कसैले यो पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न सकेन भनेर पनि भन्ने गरेको म सुन्छु' उनले भने, 'भीम रावललाई कारबाही गरेर निकालिसकेपछि पनि पुष्टि भएन ? वामदेव गौतमलाई एकता गर्छु भनेर हामीतिर आउन ठिक्क परेको मान्छेलाई अलमल्याएर फेरि अहिले कहाँ एकता सम्भव छ भनेर बेइज्जत गरिसकेपछि पनि फेरि अझै चित्त बुझेन ? के गरेर चित्त बुझ्ने हो ?’
पार्टीमा केही कुरा उठायो भनेर कारबाही गरेर ती व्यक्तिहरूको विजोग बनाउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चित्त नबुझेको पनि उनले सुनाए । 'नाम सुन्ने बित्तिकै वाक वाक लाग्छ भनेर पनि तपाईंलाई चित्त बुझेन ? फलाना व्यक्तिलाई आउट, अरुलाई इन भन्दा पनि चित्त बुझेन ?,' उनले भने, 'यस्ता वाहियात कुराहरू गरेर एमालेसँग एकताको कुनै गुञ्जायस छ भन्ने कुराको भ्रमबाट मुक्त हुनूस् ।’
आफ्नो पार्टी माओवादीमा मिल्दै छ भन्ने भ्रमबाट पनि मुक्त हुन आग्रह गर्दै उनले पार्टीलाई आफ्नै खुट्टामा उभ्याउन चाहेको बताए । तर विचार मिलेको खण्डमा त्यस्ता पार्टीसँग एकताबद्ध भएर जान चाहेको उनको भनाइ थियो ।
उनले केपी ओलीकै व्यक्तिवादी, निरंकुश, एकाधिकारवादी प्रवृत्तिका कारण एकता हुन नसक्ने उल्लेख गरे । ‘हिटलर पहिला समाजवादी नै थिए, पछि फासिस्ट हुने पुगे, विश्वयुद्धको कारक बन्न पुगे, साढे २ करोड मानिसको ज्यान गयो,’ उनले भने, ‘वर्चश्व कायम गर्नका लागि अरुले वर्चश्व स्विकार गर्नुपर्ने, भनेको मान्नैपर्ने त्यस्तो खालको प्रवृत्तिलाई जनताले जिताइदिएका छन् । अहिले जनतामा वितृष्णा पैदा भएको छ ।’
नेपालको राजनीतिको मूल समस्या कुनै एउटा पार्टीको बहुमत नहुनु वा व्यक्ति विशेष जितेर नआउनु नभइ भ्रष्टाचार, चरम व्यक्तिवाद, जनताप्रति उपेक्षाभाव भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको बहस निरर्थक रहेको विचार उनले व्यक्त गरे । उनले भने, ‘समस्या प्रवृत्तिमा छ, गलत विचारमा, व्यक्तिवादमा छ, निरंकुश प्रवृत्तिमा छ, एकाधिकारवादमा छ । फलस्वरूप सिंगो राज्यसंयन्त्र आफ्नो मुठ्ठीमा राखेर, अरुसँग बदला लिएर, तह लगाएर, राज्यका स्रोत दोहन गरेर चल्ने प्रवृत्तिमा छ ।’
