काठमाडौँ — परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपालको सामाजिक रूपान्तरणमा कांग्रेसको ऐतिहासिक भूमिका रहेको दाबी गरेकी छन् । उनले नेपालका जनजाति, दलित, महिला र पछाडि परेको समुदायको अधिकारका लागि रूपान्तरणकारी नीति र कार्यक्रमहरू कांग्रेसले नै अघि सारेको बताइन् ।
शनिबार कांग्रेसको थारु विभाग र नेपाल थारु संघले कैलालीमा संयुक्तरुपमा गरेको कार्यक्रममा मन्त्री राणाले कांग्रेसले सबै जातजाति, क्षेत्र, वर्ग र समुदायको उत्थान र शशक्तिकरणसहित समुन्नत नेपाल निर्माणको अभियान चलाइरहेको बताइन् ।
उनले भनिन्, 'नेपालमा जातीय मुक्ति एवं जनजातिको अधिकार स्थापित गर्ने क्षेत्रमा धेरै काम गरेको छ । तर आफूले गरेका कामको प्रचार कहिल्यै गर्दैन । कांग्रेस सबैको साझा पार्टी हो । सबैको अधिकार स्थापित गर्न महत्वपूर्ण आन्दोलनहरूको नेतृत्व कांग्रेसले नै गरेको छ ।'
उनले वीपी कोइरालाकै पालामा परशुनारायण चौधरी पार्टीको महामन्त्री बनेको उदाहरण प्रस्तुत गर्दै अहिले पनि कांग्रेसले सबै समुदायलाई राज्यका महत्वपूर्ण स्थानमा पुर्याउने काम गरिरहेको बताइन् ।
'कांग्रेसले २००९ सालमै थारुलाई, दलितलाई पार्टीको नेतृत्वमा अघि सारेको थियो । बहुदल स्थापनापछि 'कदमजम' को नीति अघि सार्ने पार्टी कांग्रेस नै हो । कमैया, कमलहरी र हलिया मुक्तिदेखि दलित आयोग र महिला आयोगको गठनसम्मको नेतृत्व कांग्रेसले गरेको हो,' उनले भनिन् ।
सामाजिक रुपान्तरणमा यस्ता थुप्रै कामहरू गरेपनि कांग्रेसले तिनका विषयमा जनतासम्म पुर्याउन नसकेका कारण कांग्रेस पुँजीपतिहरुको मात्रै पार्टी भनेर गलत प्रचार भएको उनको भनाइ थियो ।
