थारु समुदाय कला र संस्कृतिले धनी छ : देउवा

माघ २६, २०८१

दुर्गालाल केसी

Tharu community is rich in art and culture: Deuba

दाङ — पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु समुदाय कला र संस्कृतिले धनी रहेको बताएका छन् ।दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु संग्रहालय परिसरमा शनिबारदेखि सुरु भएको अन्तर प्रदेशस्तरीय थारु सांस्कृतिक तथा रैथाने खाना महोत्सव उद‍्घाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

'थारु समुदाय कला र संस्कृतिले धनी छ । यो थारु समुदायको सम्पत्ति हो,' उनले भने, 'थारु समुदाय, शिक्षा र ज्ञानका क्षेत्रमा अझै पनि पछाडि परेको देखिन्छ । कला संस्कृतिसँगै त्यसमा पनि सुधार गर्नुपर्छ ।' आत्मनिर्भर हुँदै आफ्नो संस्कृति बचाउने कुरामा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

थारु सांस्कृतिक महोत्सवले पनि थारु कला र संस्कृति बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । 'थारु समुदाय आफ्नो संस्कार बचाउन एकजुट भएकामा मलाई खुसी लागेको छ,' उनले भने, 'यसैगरी आफ्नो समुदायमा एकता र मेलमिलाप कायम गर्नुपर्छ ।' 

थारु समुदायलाई आवश्यक नियम कानुन बनाउन थारु समुदाय नै सक्षम रहेको उनले बताए । विभिन्न सरकारका नेतृत्व तहमा थारु समुदायको प्रतिनिधित्व भइरहेकाले आफ्नो समुदायको हितमा आवश्यक कानुन बनाउन उनीहरुले भूमिका खेल्नुपर्ने विचार देउवाले व्यक्त गरे ।

देउवा शनिबार चखौरास्थित थारु संग्रहालयमै बास बसेका छन् । उनले आइतबार जिल्ला पार्टी कार्यालय घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully