जुगलको किप्चे क्षेत्रमा लागेको आगो नियन्त्रणबाहिर, आगो लगाएको आशंकामा एक पक्राउ

माघ २६, २०८१

अनिश तिवारी

Fire out of control in Kipche area of ​​Jugal, one arrested on suspicion of arson

सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ किप्चेमा रहेको स्याङ्जी सामुदायिक वनमा बिहीबारदेखि लागेको आगो आहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ । तर शनिबार नियन्त्रणबाहिर पुगेको प्रहरीले जनाएको छ । वनमा आगो लागेको खबर पाएलगत्तै जुगल गाउँपालिकाको ढाँडेस्थित प्रहरी चौकीबाट सुरक्षाकर्मीसहित स्थानीय सामुदायिक वन जोगाउन खटिएका थिए । 

हालसम्म मानविय क्षति नभए पनि आगो नियन्त्रणमा लिनसक्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले बताए । तीन दिनअघि जुगल– ७ को सिमाना पाटीचौरको खरानेफोदन सामुदायिक वनमा डढेलो लागेको थियो । 

त्यहाँ पनि भौगोलिक कठिनाइका कारण आगो नियन्त्रण गर्न नसकिने भएपछि निभाउन गएका सुरक्षाकर्मी र स्थानीय फर्किएका थिए । यता चीन जोड्ने सीमा क्षेत्र भोटेकोशी–२ लिपिङको शिरभेग वनक्षेत्रको अवस्था पनि उस्तै छ । यहाँ गत शुक्रबारदेखि लागेको आगो मध्ये वन क्षेत्रमा फैलिरहेको छ ।

Fire out of control in Kipche area of ​​Jugal, one arrested on suspicion of arson

लिपिङमा गत आइतबार सिम्रिक एयरको हेलिकप्टरबाट पानी ओसारेर आगो पूर्ण रुपमा निभाउने प्रयास असफल भएपछि हेलिकप्टर फर्किएको थियो । हेलिकप्टरबाट आठ सय लिटरको दरले ५४ पटक भोटेकोशी नदीको पानी ओसार्दै आगो निभाउने प्रयास गरिएको थियो । 

‘जुगल किप्चेको आगलागी नियन्त्रण बाहिर छ भने राङबुसा गाउँ अग्नि रेखाका कारण सुरक्षित छ, तर लिपिङ र जुगलको पाटीचौर जंगलको बीचमा धुँवाको मुस्लो उडिरहेको छ, तर मानव बस्तीभन्दा धेरै पर छ,’ डिएसपी यादवले भने । 

लिपिङ खोलामा निर्माणाधीन लिपिङ खोला जलविद्युत् आयोजनाको टनेल साइडबाहिर वेल्डिङ गर्ने क्रममा लिपिङ वनमा आगो लागेको थियो । जुगल गाउँपालिकाको किप्चे र पाटीचौर वनमा मान्छेले आगो लगाएको आंशका गरिएको छ । त्यही आशंकामा किप्चेका ७० वर्षका दाउलात स्याङ्बोलाई इलाका प्रहरी कार्यालय जलविरेमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully