सहकारी ठग्ने होस् वा मान्छे बेच्ने होस्, कुनै शक्तिको आडमा उन्मुक्ति पाउनु हुँदैन : महामन्त्री थापा

माघ २६, २०८१

कान्तिपुर संवाददाता

Be it cheating cooperatives or selling people, immunity should not be obtained under the guise of power: Mahamantri Thapa

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै दलको वा सत्तानिकट दलको भएका आधारमा कुनै पनि अपराध कार्य गर्ने व्यक्तिले उन्मुक्ति नपाउने बताएका छन् । शनिबार काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

'गलत गरेको मान्छे चाहे त्यो आफ्नै पार्टीको होस् वा अर्को पार्टीको मान्छे होस् । चाहे त्यो घण्टी बजाउने मान्छे होस् वा डमरू बजाउने होस् । सार्वजनिक जग्गा लुट्ने होस् वा मान्छे बेच्ने होस् । गलत गर्ने व्यक्ति गलत हुन्छ,' महामन्त्री थापाले भने, 'कांग्रेस हो र जय नेपाल भन्यो भन्नेवित्तिकै कोही पनि सज्जन हुँदैन । निर्देोष हुँदैन । यो पार्टीको पोजिसन हो । त्यसैले निर्धक्क भएर गलतलाई गलत भनौँ ।'

उनले अहिले तीन वटै तहको सरकारमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेकाले देश बिग्रियो¸खत्तम भयो भनेर कांग्रेसले भन्न नपाउने बताए । बरू हरेक नागरिकलाई महसुस हुने गरी अहिले नै कांग्रेसले आफ्नो उपस्थिति देखाउनुपर्ने उनको भनाइ थियो । 

उनले कांग्रेसको जुनसुकै नेताले, मन्त्रीले गलत गरेको भए उसलाई अनुसन्धानको दायरामा ल्याएर अनुसन्धान गर्न सरकारलाई आग्रह गरे ।

'म आज कांग्रेसको महामन्त्री छु । मैले कुनै बेला गलत गरेँ भने मलाई पनि अनुसन्धानको दायरामा ल्याउनुहोला । मैले गरेको गल्तीको भारी म कसैलाई बोकाउँदिन । अरु कसैले पनि बोकाउनु हुँदैन,' उनले भने, 'म प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहीबाट आग्रह गर्दछु कि कांग्रेसको कोही पनि नेताले, मन्त्रीले चाहे त्यो सहकारी ठगी होस् वा अरु कुनै भ्रष्टाचार होस् सबैलाई अनुसन्धानको दायरामा ल्याइयोस् । दोषी भए कारबाही हुनुपर्छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully