काठमाडौँ — खानेपानी मन्त्रालयको आगलागीको क्षति मूल्याङ्कन गर्न तीन सदस्यीय समिति गठन भएको छ । सहरी विकास मन्त्रालयले सिनियर डिभिजन इन्जिनियर गणेश कर्माचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगलागी भएको खानेपानी मन्त्रालयको स्थलगत अनुगमन गरेपछि उक्त समिति गठन गरिएको हो ।
सहरी विकास मन्त्रालयका अनुसार क्षति मूल्याङ्कनका लागि गठित समितिको सदस्यमा खानेपानी मन्त्रालयका उपसचिव रहनेछन् भने अर्को सदस्यमा इन्जिनियर गणेश पाण्डे रहेका छन् ।
सहरी विकास मन्त्रालयका अनुसार उक्त समितिले घटनाको क्षति मूल्याङ्कन गर्नेछ भने सिंहदरबार परिसरमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन र त्यसको पूर्व तयारीका उपाय सुझाउन कार्यादेश दिइएको छ । समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा शनिबार बिहान आगलागी भएको थियो । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
