आज देश दुनियाँमा के-के भयो ?

माघ २५, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारीसरह समान निर्वाह भत्ता दिने, बाल यौन दुरुपयोगमा मदन राईलाई २ वर्ष ६ महिना जेल सजायदेखि अनुदानको मल गोदाममा थन्कियो, किसानले पाएनन्‌सम्मका खबर आज चर्चामा रहे । 

०००

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार ७००) कायम गर्नुपर्ने निर्णय भएको हो ।

०००

कृषि विज्ञ भनेर चिनिएका मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई उक्त सजाय सुनाएको हो ।

०००

धर्म प्रचारको आरोपमा १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

०००

बाराको कलैयामा रहेको कृषि सामग्री संस्थानको गोदाममा अनुदानको मल भरिभराउ छ । तर किसानले भने हिउँदे बालीका लागि मल पाउन सकेका छैनन् । जसका कारण तीन महिनाअघि लगाइएको मकै समय अनुसार सप्रिन पाएको छैन । धानबाली भित्र्याएलगत्तै हिउँदे मकै लगाएका किसान यतिबेला मलका लागि भौतारिरहेका छन् । मकैका लागि डिएपी र पोटास मल आवश्यक पर्छ ।

०००

महिला ट्वान्टी-२० शृंखलाको उपाधि थाइल्याण्डले जितेको छ । अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो । थाइल्याण्ड शृंखलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अंकका साथ शीर्ष स्थानमा रह्यो । यस्तै नेदरल्याण्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार व्यहोर्दै आठ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully