गम्भीर प्रकृतिका मुद्दाका फरार अभियुक्त पक्राउ गर्न मात्र नेपाल प्रहरीको विशेष टोली विदेश जाने गरेकामा राजीखुसीले बिहे गरेका सत्येन्द्र र नेहालाई लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन डीएसपी रुगम कुँवर (हाल एसपी) सहितको टोली मुम्बई पुगेको थियो
सर्लाही — सर्लाहीको बरहथवाका अन्तरजातीय दम्पतीलाई छुटाउन प्रहरी संयन्त्रले महिनौंदेखि गरिरहेको प्रयासलाई सर्वोच्च अदालतले असफल बनाइदिएको छ । सर्लाहीको बरहथवा–१० का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा–५ की नेहा रौनियारको विवाहलाई सर्वोच्च अदालतले वैधता प्रदान गरेको हो ।
गत साउन २५ मा घरबाट भागेर भारतको मुम्बई पुगेका सत्येन्द्र र नेहालाई ल्याउन प्रहरी संयन्त्र प्रयोग भएको थियो । नेहाको परिवारले सत्येन्द्रविरुद्ध शरीर बन्धक तथा अपहरणको आरोपमा उजुरी दिएको थियो भने प्रहरीले बाल विवाहको कसुरमा मुद्दा चलाएको थियो । तर सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासले आइतबार जन्मदर्ताका आधारमा दुवैको विवाह गर्ने उमेर पुगेको अवस्थामा छुटाउने प्रयास गलत भएको आदेश गरेको छ । सर्वोच्चले नेहालाई सत्येन्द्रको जिम्मा लगाउनसमेत आदेश दिएको छ ।
गम्भीर प्रकृतिका मुद्दाका फरार अभियुक्त पक्राउ गर्न मात्र नेपाल प्रहरीको विशेष टोली विदेश जाने गरेकामा राजीखुसीले बिहे गरेका सत्येन्द्र र नेहालाई लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन डीएसपी रुगम कुँवर (हाल एसपी) सहितको टोली मुम्बई पुगेको थियो । मुम्बईबाट प्रहरीसँग फर्कने क्रममा दिल्लीबाट उम्किएका जोडीले कपिलवस्तु जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।
त्यसपछि ललितपुरमा उनीहरू बस्दै आएकामा प्रहरीले सत्येन्द्रलाई पक्राउ गरेर सर्लाही जिल्ला अदालतमा पेस गरेको थियो । नेहालाई भने माइतीको जिम्मा लगाइएको थियो । सत्येन्द्र र नेहाले अन्तरजातीय प्रेमविवाह गरेकै कारण गृहमन्त्री र उच्च प्रहरी अधिकारीकै संलग्नतामा ज्यादती भएको भनेर प्रतिनिधिसभाको बैठकमा बिहीबार सत्ता पक्ष र प्रतिपक्षका सांसदले समेत प्रश्न उठाएका छन् । उनीहरूले विवाह दर्ता गरिसकेको अवस्थामा बालविवाहको मुद्दा दर्ता गरेर दुःख दिने कार्य गलत भएको बताएका थिए ।
सत्येन्द्र र नेहा विवाह गर्ने गरी पहिलोचोटि गत साउन २५ मा घरबाट हिँडेका थिए । त्यति बेला नेहाका बुवा सुरेन्द्र उपचारका लागि भारतको दिल्लीमा थिए । ‘छोरी हराएको’ खबर सुन्नासाथ उनी तत्कालै नेपाल फर्किएका थिए भने खोजतलासका लागि काका मनोजले साउन २९ मै इलाका प्रहरी बरहथवा र भदौ २ मा जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन दिएका थिए ।
सुरेन्द्रले गाउँका मानिससँग सोधखोज गर्दै जाँदा सत्येन्द्रको साथमा नेहा गएको थाहा पाए । त्यसपछि उनीहरूले सत्येन्द्रका बुवा इन्दल राम र आमा गीता देवीलाई सोधपुछ गर्न बरहथवा प्रहरीलाई दबाब दिएका थिए । प्रहरीकै सहायक निरीक्षक पदमा कार्यरत सत्येन्द्रका बुवा इन्दलले एक साताको समय मागेर भदौ ११ मा नेहालाई प्रहरी कार्यालयमार्फत नै उनको परिवारको जिम्मा लगाए ।
सर्लाही प्रहरीका प्रमुख एसपी रवीन्द्र सिंहका अनुसार सत्येन्द्र र नेहा फेरि असोज १० मा हिँडे । त्यसपछि कात्तिक ८ मा नेहाका बुवा सुरेन्द्रले उमेर नपुगेकी छोरीलाई अपहरण शैलीमा लगेको भन्दै सत्येन्द्रलगायत ९ जनाविरुद्ध शरीर बन्धक तथा अपहरणको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन गए ।
विवाह गर्ने उमेर नपुगे पनि बालिग रहेकाहरू आफूखुसी हिँडेको भन्दै प्रहरीले अपहरणको आरोपमा जाहेरी लिन मानेन । त्यति बेला सत्येन्द्रको उमेर भर्खर २० वर्ष पुगेको थियो भने नेहाको उमेर २० वर्ष पुग्न केही दिन मात्र बाँकी थियो ।
प्रहरीले अपहरण कसुरमा जाहेरी लिन नमानेपछि सुरेन्द्रले सत्येन्द्र, उनका बुवा इन्दल, आमा गीता र मामा राजुविरुद्ध बाल विवाहको कसुरमा जाहेरी दिए । उक्त जाहेरी प्रहरीले कात्तिक २५ मा मात्र दर्ता गरेको थियो । ‘केटीका बुवाले छोरी हराइन्, उमेर नपुगी भगाएर विवाह गर्यो भनेर प्रमाणसहित जाहेरी ल्याएपछि दर्ता नगर्ने कुरा भएन,’ एसपी सिंहले भने । उनका अनुसार त्यसबीच केटाकेटीलाई खोज्ने प्रयास गरिएको थियो । उजुरीमाथि अनुसन्धान सकेर प्रहरीले पुस २ मा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मिसिल बुझाएको थियो ।
सत्येन्द्र र नेहा दुवै दोस्रो पटक घरबाट हिँडेपछि सुरेन्द्रले सर्लाहीको अलावा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र प्रहरी वृत्त गौशालामा पनि खोजतलासका लागि निवेदन दिएका थिए । सुरेन्द्र बरहथवामा हार्डवेयरको व्यापार गर्छन् । काठमाडौंमा उच्च प्रहरी अधिकारीहरूको समन्वयमा नेहा र सत्येन्द्रलाई लिन उनी प्रहरीसहित भारत गएका थिए । ‘मैले प्रहरीलाई हारगुहार गरेको थिएँ । त्यसपछि म प्रहरीसँग मुम्बई पुगेको हो,’ सुरेन्द्रले भने, ‘तर मैले आफ्नो पैसा खर्च गरेर प्रहरीलाई भारत लगेको भने होइन ।’
छोरीको उमेर नपुगेकै कारणले बाल विवाहको उजुरी गरेको सुरेन्द्रको भनाइ छ । उनका अनुसार मुम्बईमा रहेका आफन्तको सहयोगमा उनीहरूले बजारमा सत्येन्द्रका मामा राजु रामलाई भेटेका थिए । त्यसपछि राजुले नै प्रहरी र सुरेन्द्रलाई नेहा र सत्येन्द्र बसेको स्थानमा लगेका थिए । ‘दुवैलाई त्यहाँबाट समातेर दिल्ली ल्यायौं । त्यही दिन जहाजमा काठमाडौं आउने योजना थियो,’ उनले भने, ‘तर अचानक दुवै जना इन्दिरा गान्धी विमानस्थलबाट भागे ।’
सत्येन्द्रको भनाइमा भने मुम्बईमा उनीहरू बसेको स्थानमा भारतीय प्रहरीका साथमा दुई नेपाली प्रहरी पुगेका थिए । ‘नेपाली प्रहरीहरू रुगम कुँवर र इन्द्रमणि पोख्रेल रहेछन् भन्ने पछि थाहा भयो । उनीहरूले मुम्बईबाट नक्कली कागज बनाएर ल्याएका रहेछन् । त्यही कागजका आधारमा हाम्रो टिकट काटेर हामीलाई दिल्लीबाट काठमाडौं लैजान खोजेका थिए,’ उनले भने, ‘हामीले नक्कली कागज बनाएर यिनीहरूले हामीलाई लैजान खोजका छन् भनेर विमानस्थलका प्रहरीलाई भनेपछि नेपालका प्रहरी भागे ।’
सत्येन्द्र र नेहालाई पक्रन भारतको मुम्बई पुगेको भन्ने भनाइ सरासर गलत भएको एसपी कुँवरले दाबी गरे । ‘म कामको सिलसिलामा भारत गएको हुँ,’ उनले भने, ‘उनीहरूलाई पक्रन भने गएको होइन । झूटो प्रचारबाजी भयो । म विभिन्न मुद्दाको सिलसिलामा भारत पुगेको हुन्छु ।’
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पनि सत्येन्द्र र नेहालाई पक्रन प्रहरी भारत नगएको दाबी गरे । ‘हाम्रो कोही पनि प्रहरी भारत गएका छैनन् । अन्य मुद्दाका सिलसिलामा गए पनि बाल विवाह मुद्दामा पक्रन गएको छैन,’ उनले भने, ‘हामीले काठमाडौंबाट सत्येन्द्र र नेहालाई पक्राउ गरेर अदालत पठाएका हौं । नेहाका बुवा कसलाई लिएर गएका हुन्, थाहा भएन ।’
नेहा र सत्येन्द्रले कपिलवस्तु जिल्ला अदालतमा पुस ३ मा ‘कोर्ट म्यारिज’ गरेका थिए । त्यसपछि दुवै जना ललितपुरको टीकाथलीमा बस्दै आएका थिए । सत्येन्द्रकी आमा गीतादेवी पनि सँगै बस्थिन् । तर विवाहअगावै जिल्ला प्रहरी कार्यालय मलंगवामा बाल विवाहको उजुरी दर्ता रहेकाले सत्येन्द्र फरार आरोपित थिए ।
त्यसैलाई आधार बनाएर नेहाका बुवा सुरेन्द्रले गत पुस १६ मा पुनः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली प्रयोग गरेर उनलाई पकाउ गराए । त्यही दिन प्रहरीले उनीहरूलाई ललितपुर महानगरपालिका–६ मोतीचोकबाट पक्राउ गरेको थियो । प्रहरीले उसैबेला नेहालाई माइती पक्षको जिम्मा लगाएको थियो ।
प्रहरीले सत्येन्द्रलाई भने सोही दिन सर्लाही लगेको थियो । सर्लाही प्रहरीले सत्येन्द्रलाई पुस १७ मा जिल्ला अदालतमा पेस गरेको एसपी सिंहले बताए । ‘केही दिन हिरासतमा राखेका हौं,’ उनले भने, ‘यहाँ सत्येन्द्रमाथि कुनै किसिमको यातना वा दुर्व्यवहार भएको छैन । हामीले ससम्मान राखेका थियौं ।’
बाल विवाह मुद्दामा अदालतले पुस १९ मा सत्येन्द्रसँग ३० हजार धरौटी माग गरी तारिखमा छोड्न आदेश दिएको पनि उनले बताए । उता परिवारको साथमा रहेकी नेहालाई भने जिल्ला अदालत सर्लाहीमा विवाह दर्ता बदरका लागि पुस २९ मा फिरादपत्र पेस गर्न लगाइएको थियो ।
आफू धरौटीमा छुटे पनि श्रीमतीसँग भेट हुन नसकेको भन्दै सत्येन्द्रले भने पुस २२ मै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । त्यही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दुवै जना बालिग रहेको प्रमाण र एकअर्कासँग बस्न राजी रहेको बयानलाई आधार बनाएर नेहालाई सत्येन्द्रको जिम्मा लगाउन माघ २० मा आदेश दिएको हो । सुरेन्द्रका अनुसार अदालतको बन्द इजलासमा न्यायाधीशसमक्ष नेहाले सत्येन्द्रसँगै बस्ने बताएकी थिइन् । ‘त्यसपछि छोरीलाई त्यहीँ छाडेर म आएँ,’ सुरेन्द्रले भने ।
