इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री राणाको फोन : विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

माघ २५, २०८१

कान्तिपुर संवाददाता

Foreign Minister Rana's call to Iran's Foreign Minister: Request to take initiative for Bipin Joshi's release

काठमाडौँ — हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन वार्ता गरेकी छन् ।

सो क्रममा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री राणाले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् । 

त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिनको रिहाइको विषय प्राथमिकताका साथ उठाउने आश्वासन दिएका थिए । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले कब्जामुक्त गरिरहेको छ ।

हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल गर्दै आएको छ । यसक्रममा मन्त्री राणाले अघिल्लो हप्तामात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी त्यसबारे अपिल गरेकी थिइन् । इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आएकी छन् ।

केही हप्ताअघि मन्त्री राणाले इजरायलका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमा सो आग्रह गरेका थिए । 

विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully