काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पार्टीका सभापतिमाथिको सरकारको रवैयालाई संसद्ले पनि समर्थन गरेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेमाथि रवैया देखाएको आरोप लगाए । उनले चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिए ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो की भन्ने महसुस भएको छ । एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ । झुटो मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् । सरकारको यस्तो रवैयालाई सार्वभौम संसद्ले समर्थन नगरोस् । प्रतिनिधि सभाको नियमावली २०७९ को नियम १४८ को उपनियम ३ को सही प्रयोग होस् भन्ने चाहन्छु । थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न मान्य सभामुख महोदयसँग माग गर्दछु ।’
सांसद अर्यालले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न माग गरे ।
