विराटनगर — पूर्व-पश्चिम राजमार्गको विराटचोक नजिकै रोकियो, २६६९ नम्बरको सगरमाथा यातायातको बस । सहचालक रोशन काफ्लेले भने, ‘ल दिसापिसाब लाग्या भए जानु होला है !’ त्यसपछि बसमा यात्रारत झापा बाहुनडाँगीका निकेश दाहाल ओर्लिए ।
तर, मध्यबजारमा सार्वजनिक शौचालय कता होला भनेर अलमलमा परे । अनि सहचालकलाई सोधे, ‘शौचालयचाहिँ कता छ हौ दाइ ?’ सहचालकले दक्षिणतिर देखाउँदै भने, ‘उ त्यहीँ त हो नि ।’
निकेश छक्क परे । ‘भव्य भवनमा सार्वजनिक शौचालय होला भन्ने कल्पना नै गरेको थिइनँ,’ निकेशले भने, ‘बाहिर जति भव्य, भित्र पनि उस्तै ।’ हाम्रा धेरै सहर–बजार सार्वजनिक शौचालयविहीन छन् । तर, मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले भने २०७३ देखि नगरपालिका क्षेत्रमा आधुनिक शैलीका आठ शौचालय निर्माणको अभियान थालेको हो । त्यो बेला विराटचोकमा व्यापार मेला आयोजनाबाट जोहो गरिएको केही रकमले पहिला ११ धुर जमिन खरिद गरेपछि शौचालय निर्माणको अभियान सुरु भएको हो । जसको नेतृत्व स्थानीय व्यवसायी भोलेश्वर दुलालले गरे । देशविदेश घुमफिर गरिरहने उनले विदेशमा देखेको अभ्यासलाई आफ्नै नगरमा प्रयोगमा ल्याएका हुन् ।
अहिलेसम्म विराटचोक र सलकपुरका दुई शौचालय चालु अवस्थामा छन् । खोर्साने र हरैचाबजारका दुई शौचालय निर्माणाधीन छन् । सबै शौचालय एकै डिजाइनका छन् । दुई तले शौचालयको भुईंतलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन छ । पहिलो तल्लामा आधुनिक अडियो–भिडियो सुविधासहितको पुस्तकालय छ । फुर्सदका समयमा शौचालयको दोस्रो तला उक्लिएर विभिन्न पुस्तक पढ्न पनि सकिन्छ । अपांग र महिलाका लागि विशेष व्यवस्था छ, शौचालयभित्रै । ‘शौचालय युरोपेली मापदण्डअनुसार बनाइएको छ,’ दुलालले भने । महाअभियानले विराटचोक, खोर्साने, बलिया, सलकपुर, गछिया, गोठगाउँ र हरैचालगायतका आठ वजारमा शौचालय निर्माण सुरु गरेको हो । ‘चार बजारमा शौचालय निर्माण भइसक्यो’ व्यवसायी दुलालले भने, ‘अब चार स्थानमा बनाउन बाँकी छ ।’
सार्वजनिक शौचालय निर्माणका लागि उबेलै करिब ९ करोड ६४ लाख रुपैयाँ खर्च अनुमान गरिएको थियो । जसमा स्थानीय सरकारको ३५ प्रतिशत लगानी रहने र बाँकी ६५ प्रतिशतमा स्थानीयबासी, व्यापारी, बैंक तथा वित्तीय संस्थाहरूको साझेदारी रहने जनाइएको छ । बाँकी चार शौचालयको काम सुरु गर्न वाणिज्य संघ पुनः एक्स्पो आयोजना गर्दैछ । माघ ३० गतेदेखि विराटचोकमा ‘सुन्दर हरैंचा विराट एक्स्पो’ आयोजनाको तयारी तीव्र पारिएको छ । ‘एक्स्पोबाट भएको आम्दानीलाई अन्य चार शौचालय निर्माणमा खर्चिने हाम्रो योजना छ,’ उपाध्यक्ष डिल्लीप्रसाद ढकालले भने,‘त्यसपछि महाअभियानले अरु सामाजिक गतिविधि गर्ने छ ।’
