सरकारको कामले जनतामा निराशा बढ्यो : दाहाल

माघ २५, २०८१

कान्तिपुर संवाददाता

Disappointment among the people has increased due to the work of the government: Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारका कामले गति नलिँदा सर्वसाधारणमा निराशा बढेको बताएका छन् । मुलुकको आर्थिक अवस्था सुधार गर्न नसकेको टिप्पणी गर्दै उनले भ्रष्टाचार छानबिन अवरुद्ध गरेको आरोप सरकारमाथि लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले सरकार अध्यादेशको बाटोमा अघि बढ्न खोजेको र विपक्षी दलहरूमाथि राजनीतिक प्रतिशोध लिएको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओली आफैं ‘सरकार ढल्दै छ’ भनेर कमजोर मनोविज्ञानका साथ अघि बढेको उनको टिप्पणी थियो । संविधान संशोधन गरी मुलुकमा दुई दलीय व्यवस्थाको कल्पना नगर्न उनले चेतावनी दिए ।

दाहालले जनताप्रति सरकार हदैसम्म गैरजिम्मेवार बनेको र अहंकारपूर्ण ढंगले गलत बाटोतिर गइरहेको आरोप लगाए । सरकार बिचौलिया र स्वार्थ समूहको पक्षमा लाग्दा मुलुक आक्रोशित बनेको उनको भनाइ थियो । दाहालले संविधानमा समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशितालाई संशोधन गर्न चुनौती दिए । 

‘प्रधानमन्त्री ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहोर्‍याइतेर्‍याइ संविधान संशोधन ०८७ मा हुन्छ भनेको सुनेँ । आज म विशेषगरी कांग्रेसका साथीहरूलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे बोलुँ कि नबोलुँ ?’ उनले भने, ‘संशोधन नै गर्ने हो भने महिलालाई ५० प्रतिशत, जनसंख्या र विशेषाधिकारका आधारमा दलितलगायतको प्रतिनिधित्व हुने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं । यसमा छलफल गर्न तपाईंहरू तयार हुनुहुन्छ ?’

दाहालले दुई छिमेकीसँग सम्बन्ध बिग्रिएको तर्क गरे । ‘अहिलेको सरकारले नेपालको हितअनुरूप कूटनीतिक क्षेत्रमा भूमिका खेल्न सकेन,’ उनको दाबी छ, ‘राष्ट्रिय स्वार्थका आधारमा विश्वमञ्चमा नेपालको दरिलो उपस्थिति बनाउनुको साटो सरकारले आफ्नो स्वार्थमा परराष्ट्र सम्बन्ध ध्वस्त बनायो ।’ हमासले गाजामा बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि सरकारले पहल गर्न नसकेको पनि उनले उल्लेख गरे ।

अधिकांश समय सरकारको आलोचना गरेका दाहालले सहकारी ठगीको छानबिनमा रहेका रास्वपाका संस्थापक सभापति रवि लामिछानेको प्रतिरक्षा गरे । ‘सहकारीबाट पैसा ल्याउन कतै प्रत्यक्ष नजोडिनुभएका उहाँ (लामिछाने) लाई आज सबैभन्दा ठूलो सहकारी ठगका रूपमा देशभर दौडाइएको छ,’ उनले भने, ‘हिजो उहाँलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि सडाइछाड्ने षड्यन्त्रमा छन् । त्यसका लागि सिंगो राज्यको दुरुपयोग भएको छ ।’

उनले नुवाकोटको शेरा दरबारको जग्गा अनियमिततामा आफ्नो संलग्नता भए पुष्टि गर्न चेतावनी दिए । शेरा दरबार र त्यसले ओगेटेको १६४ रोपनी जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारले लिएको प्रहरी अनुसन्धानमा पाइएको थियो । श्रेष्ठ माओवादी अध्यक्ष दाहाल २०६५ मा प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । यही विषयमा छानबिन गर्न दाहालले संसद्मा चेतावनी दिएका हुन् ।

कान्तिपुर

Link copied successfully