माओवादी सत्ताको खेलमा छैन, सरकार बनाउँछौँ तर आफ्नै सामर्थ्यमा : अध्यक्ष दाहाल

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Maoist is not in the game of power, we will form the government but on our own strength: President Dahal

काठमाडौँ — प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले माओवादीदेखि प्रधानमन्त्री केपी शर्मा ओली डराएको आरोप लगाए । 

‘अझै पनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसद्‍मै म फेरि एकपटक दोहोर्‍याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं,’ उनको भनाइ थियो,  ‘तपाईंहरूका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धूलो र मैलो टक्टक्याएर हामी फेरि गरिब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं । अस्ति प्रधानमन्त्रीले संसद्‍मा गीत गाउनुभयो– ढलेँ, ढलेँ, ढलेँ....। तपाईंहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु, भनिरहनुपर्छ ? हरेक ठाउँमा भनिरहनुपर्ने ? के शेरबहादुरजी कान सुन्नुहुन्न ? सुन्नोस्, हामी टिप्न हिँडदैनौं यो सरकार तर यो कुहिएर झर्नेवाला छ । हामीले भनेको त्यो हो ।’

आफूहरूको डरले कुर्सी नमिलाउन पनि कांग्रेस एमालेलाई दाहालले आग्रह गरे । उनले आफ्नै बलबुतामा सरकार बनाउने पनि बताए । उनले भने, ‘०८४ सम्ममात्र किन, त्योपछि पनि सँगै जानोस्, मेरो शुभकामना छ । हामी सरकार बनाउनेछौं तर आफ्नै सामर्थ्यमा । सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।'

कान्तिपुर संवाददाता

Link copied successfully