नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको छ : पूर्वअर्थमन्त्री पुन

माघ २४, २०८१

कान्तिपुर संवाददाता

The new stock exchange license is being given to interest groups: former Finance Minister Pun

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा पूर्वअर्थमन्त्री पुनले सरकार नयाँ स्टक एक्चेन्जको पुनःसंरचना गर्न छाडेर नयाँ स्कट एक्सचेन्जको लाइसेन्स दिने होडबाजीमा लागेको आरोप लगाएका हुन् । उनले नयाँ स्टक एक्चेन्जको लाइसेन्स निजी क्षेत्रलाई दिने भए कमिसनबाट नभई खुला प्रतिस्पर्धा दिन पनि आग्रह गरे । 

पुनले नयाँ स्कट एक्सचेन्जको लाइसेन्समा पनि स्वार्थ समूह हाबी देखिएको बताए । उनले खुला प्रतिस्पर्धाका आधारमा नभए प्रमुख प्रतिपक्ष दलले सरकारलाई खबरदारी गर्ने बताए । ‘नेपाल धितोपत्रबाट नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना गर्ने कुराहरू आएका छन् । तर पुनःसंरचना भइराखेको छैन । नयाँ स्टक एक्सचेन्ज दिनको लागि तछाड मछाड चलिरहेको छ । यसमा केही स्वार्थ समूहका स्वार्थ देखिएका छन्,' उनले भने, 'नेपाल स्टक एक्सचेन्जलाई पुनःसंरचना गरेर बलियो बनाइयोस् । निजी क्षेत्रमा जानुपर्दा प्रतिस्पर्धाबाट जाने व्यवस्था होस् ।'

सरकारले समयमा विकास निर्माणको लागि ठेक्कासमेत लगाउन नसकेको सांसद पुनको भनाइ थियो । बजेटमा व्यवस्था गरिएको विकास निर्माणका आयोजना तत्काल ठेक्का लगाएर सुरुवात गर्न पनि उनले माग गरेका छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully