संविधान संशोधन बहाना मात्रै : भीम रावल

माघ २४, २०८१

अर्जुन शाह

Constitutional amendment is just an excuse: Bhim Rawal

धनगढी — मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका एमालेबाट निष्कासित नेता भीम रावलले वर्तमान कांग्रेस–एमालेको सरकारले संविधान संशोधन गर्ने कुरा गरेर झुट बोलिरहेको बताएका छन् । ‘अहिले कतिपय नेताहरूले दुई तिहाइ नभएर संविधान संशोधनको कुरा अघि नबढाएको भनेको सुनिन्छ,’ बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा नेता रावलले भने, ‘रातारात मिलीजुलीको हस्ताक्षर गर्ने बेला दुई तिहाइ छैन भन्ने थाहा थिएन र ?’ 

केही दिनअघि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले धनगढीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै दुई तिहाइ नभएकोले संविधान संशोधनको कुरा अहिले नउठाइएको बताएका थिए ।

नेता रावलले राजनीतिक स्थायित्व दिने भनेकोप्रति पनि प्रश्न उठाए । उनले भने, ‘दुई वर्ष फलानो प्रधानमन्त्री त्यसपछि फलानो प्रधानमन्त्री भनेको के हो ?, के दुई दल मिलेर उनीहरूले जे गरे पनि स्थिरता हुन्छ र ? ।’ 

उनले कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीबीच भएको भनिएको सात बुँदे सम्झौता नै अपारदर्शी रहेको बताए । ‘हस्ताक्षरित सम्झौता किन गुपचुप राख्नुको उद्देश्य के हो ?,’ उनले भने ।

 नेकपा एमालेले पार्टी सदस्यबाट निष्कासित गर्दैमा आफ्ना मान्यता र प्रतिबद्धताहरू कतै पनि तलमाथि नपर्ने बताउँदै नेता रावलले यति बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत स्वेच्छाचारी शासन चलाइरहेको आरोप लगाए । 

देशव्यापी परामर्शपछि पार्टी गठनको चरणमा पुग्ने बताउँदै उनले शनिबार धनगढीमा मातृभूमि जागरणको कैलाली कञ्चनपुरस्तरीय भेला आयोजना गर्न लागेको बताए । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully