काठमाडौँ — नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूभन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नुपरेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले कांग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष दाहाल रहेकोमा त्यसलाई अहिले चिरिएको बताए । उनले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर दाहालले आफ्ना भनाइ राखेको बताए ।
उनले अध्यक्ष दाहालले मन्त्रिपरिषद्बाटै पारित भएको कार्यविधि लत्याएर तीन करोडभन्दा तल कुनै पनि संघीय आयोजना नराख्ने मन्त्रिपरिषद्को निर्णय उल्ट्याएको आरोप लगाए । उनले वर्तमान सरकारले सोही बजेटमाथि काम गरेर अघि बढ्नुपर्ने अवस्था भएकाले आर्थिक अवस्था दुरुस्त गर्न समस्या आइरहेको बताए ।
उनले राजनैतिक परिवर्तनको सम्पूर्ण श्रेय अध्यक्ष दाहालले लिएको र अध्यक्ष दाहालले एक दलीय व्यवस्था चाहेको बताए । एक दलीय व्यवस्था स्थापित गर्ने मनसायले अध्यक्ष दाहालले युद्ध लडेको उनको टिप्पणी थियो ।
