काठमाडौँ — संघीय संसद्मा सरकारले पेस गरेका अध्यादेश स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्नेबारेमा राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय लिने जसपा नेपालले जनाएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले अध्यादेश र पार्टीलाई जोडेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको पनि बताएको छ ।
अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले बिहीबार विज्ञप्ति जारी गर्दै अध्यादेशका सम्बन्धमा पार्टी र नेतृत्वलाई जोडेर आएका सूचनामा सत्यता नभएको उल्लेख गरेका छन् । 'जनता समाजवादी पार्टी नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले आज दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी अध्यक्ष माननीय उपेन्द्र यादवलाई रायसुझावसहितको प्रतिवेदन बुझाएको छ । माननीय सांसदहरूलाई अध्ययनका लागि सो प्रतिवेदन दिइएको छ,' विज्ञप्तिमा भनिएको छ, 'उक्त प्रतिवेदन उपर थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमा देश र राष्ट्रहित हुने गरी ठोस निर्णय लिने जानकारी गराउन चाहन्छौ ।'
पार्टीका नेता र कार्यकर्तालाई भ्रममा पार्ने खालका सूचना तथा जानकारी सार्वजनिक भएकोप्रति अध्यक्ष यादवको सचिवालयले त्यसमा भर नपर्न आग्रह गरेको छ ।
