रवि लामिछानेको थुनछेक बहस सकियो

माघ २४, २०८१

रमेशकुमार पौडेल

Ravi Lamichhane's debate is over

चितवन — साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

मंगलबार दायर भएको  यो मुद्दाको थुनछेक बहस हिजो बुधबारबाट सुरू भएको थियो । बहस बिहीबार दिउँसो सवा तीन बजेतिर सकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।   

 । पक्ष विपक्षका वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीशले मुद्दाको अन्तिम फैसला नआउँदासम्म प्रतिवादीलाई थुनामा राख्ने, कारागार पठाउने, धरौटी लिएर तारेखमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्ने निर्णय दिने छन् । बहस सकिएका कारणले यस्तो आदेश आजै आउने सम्भावना छ । रवि लामिछानेविरुद्ध सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना सजाय हुनु पर्ने र साहारा सहकारीबाट गोरखा मिडियामा गएको १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ रकम लामिछानेसहित चार जनाको सामूहिक दायित्वमा हुन आउने बिगोबाट असुल गर्न माग राखेर मुद्दा दायर भएको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully