जालझेल गरेर मेरो सांसद पद निलम्बन गरिएको छ : रवि लामिछाने

माघ २४, २०८१

कान्तिपुर संवाददाता

My MP post has been suspended by fraud: Ravi Lamichhane

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद जालझेल गरेर निलम्बन गरिएको आरोप लगाएका छन् । चितवन जिल्ला अदालतबाट बिहीबार धरौटीमा रिहा भएपछि लामिछानेले दुईपल्ट निर्वाचित हुँदा पनि सांसद पद निलम्बन गरिएको बताएका हुन् । 

चितवन जिल्ला अदालतमा सहकारी ठगीमा बयान दिएपछि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्ने आदेश भएको थियो । त्यसपछि अदालतबाहिर लामिछानेले भने, 'मलाई यहाँबाट न्याय नहुने भन्ने कुनै प्रश्न छैन । चितवनवासीले मेरो न्यायका लागि बारम्बार लड्नुभएको थाहा छ । चितवनवासीले दुईपल्ट निर्वाचित गरेर मलाई पठाउँदा जालझेल गरेर मेरो सांसद पद निलम्बन गरिएको छ ।'

लामिछानेले चितवनबाट परिवर्तनको जन्म हुने पनि दाबी गरे । मुलुकलाई परिवर्तन गर्नका लागि चितवनले पीडा भोगिरहेको उनको भनाइ थियो । आफूले धेरै कुरा राख्नुपर्ने भए पनि अहिले उचित समय नभएको उनको भनाइ थियो । आवश्यक समयमा आफूले सबै कुराको जवाफ दिने पनि उनले बताए । 

लामिछानेले यसअघि आफ्नो सांसद पदमा भएको निलम्बन फुकाइदिन सभामुख देवराज घिमिरेलाई निवेदन दिएका थिए । रास्वपाले संसद्‍मा लामिछानेलाई निलम्बन गर्नका लागि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको बताउँदै आएको छ ।   

कान्तिपुर संवाददाता

Link copied successfully