काठमाडौँ — सत्तापक्षमा रहेको जनता समाजवादी पार्टी नेपालले अध्यादेश ल्याउनका लागि सरकारलाई के बाध्यता आइपर्यो भनेर प्रश्न गरेको छ । अध्यादेश ल्याएर सरकारले देश चलाउने भए सांसदहरू भत्ता खानका लागि मात्रै संसद्मा आएका हुन् भन्ने पनि जसपा नेपालले प्रश्न गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा जसपा नेपालकी प्रमुख सचेतक रेखा यादवले अध्यादेशबाट देश चलाउने कस्तो सिद्धान्त स्थापना गरिरहेको हो भनेर पनि प्रश्न गरेकी थिइन् । पार्टीको तर्फबाट सदनमा धारणा राख्ने क्रममा प्रमुख सचेतक यादवले लोकतान्त्रिक पद्धतिमा अध्यादेशबाट देश चलाउने कुरा सही नभएको उनको भनाइ थियो । 'कस्तो लोकतन्त्र, कस्तो गणतन्त्र, हामीले कस्तो पद्दतिको अभ्यास गर्दैछौं ? के अब देश अध्यादेशबाट चलाउन खोजेको हो ? कस्तो बाध्यता आइपर्यो यो अध्यादेश ल्याउनको निमित्त ?,' उनले प्रश्न गरिन् ।
संसद् चलाउनका निमित्त सरकारको मुख हेर्नुपर्ने र सरकारले आदेश नदिएसमम संसद् नचल्ने गरेको भन्दै यादवले असन्तुष्टि जनाइन् । सदनलाई यसरी नै बन्दी बनाउने र अध्यादेशमार्फत देश चलाउने हो ? भन्ने उनको प्रश्न थियो । उनले प्रश्न गरिन्, 'किन यसरी बारम्बार सदनलाई बन्दी बनाइन्छ ? आखिर यो अध्यादेश किन आयो त ?'
सरकारले अध्यादेश ल्याउनुको कारण सदनबाट पारित हुन नसक्नु रहेको भनेको सुनेको बताउँदै यादवले समितिमा कसको बहुमत छ र कसले गर्दा कानुन निर्माण नभएको हो ? भनी प्रश्न गरेकी थिइन् । 'समितिका बैठकहरूमा कोरम पुग्दैन भन्ने बारम्बार सुन्ने गरेका छौं तर ती समितिहरूमा कसको संख्या बढी छ ? कि अहिले सरकारमा भएका पार्टीहरूको होइन र ? त्यो समितिमा सदस्यहरूको संख्या कसको बढी छ ? आखिर किन समितिबाट विधेयकहरू पास हुन सक्दैन त ? यसलाई पनि अनिर्णयको बन्दी बनाएको होइन र ?,' संसद् र संसदीय समितिलाई अनिर्णयको बन्दी बनाएर अध्यादेशको बाटोमा सरकार गएको उनको भनाइ थियो ।
अध्यादेश ल्याउने संवैधानिक बाटो रहेको तर त्यस्तो व्यवस्ता छ भन्दैमा सदन खुल्नु केही समय पहिले अध्यादेश ल्याउनु सही नभएको यादवको भनाइ थियो । 'हामी संसद्मा सांसद के गर्न आउँछौं ? हामी के गफ गर्न आएका हौं ? कि माइक समाएर हल्ला गर्न मात्रै आएका हौं ? के हो हाम्रो दायित्व ? सभामुखमार्फत अध्यादेश ल्याउने सरकारलाई सोध्न चाहन्छु, हाम्रो जिम्मेवारी के हो ?,' उनले सोधिन् ।
अध्यादेश ल्याएर सरकार कानुन निर्माणमा अगाडि बढेपछि जनताले सांसदलाई प्रश्न गर्न लागेको यादवको भनाइ थियो । उनले भनिन्, 'नागरिकहरू सोध्न लागेका छन्, अध्यादेशबाट देश चल्ने भयो, तपाईंहरू सदनमा के गर्न जानुहुन्छ ? सदनमा गएर भत्ता मात्रै खान पुग्नुभएको भन्ने प्रश्नको जवाफ के दिने ?'
कानुन निर्माणका लागि अध्यादेशबाट नभई संसद्को नियमअनुसार विधेयकको बाटो भएर जानुपर्ने यादवको भनाइ थियो ।
