अदालतको आदेशपछि हेटौंडा उपमहानगरपालिकाले रोक्यो फोहोर संकलन

माघ २४, २०८१

प्रताप विष्ट

After the court order, Hetaunda sub-metropolitan municipality stopped garbage collection

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले बिहीबारदेखि फोहोर नउठाउने भएको छ । उच्च अदालत पाटन हेटौंडा इजलासले हेटौंडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फोहोर फाल्न निषेधाज्ञा जारी गरेसँगै बिहीबारबाट उपमहानगरपालिकाले फोहोर नउठाउने जनाएको हो ।

उपमहानगरपालिकाले आफ्नै कर्मचारीमार्फत हेटौंडा बजार क्षेत्रको सरसफाइ गर्दै आएको छ । निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरका २३ हजार घरधुरीबाट फोहर संकलन गरी व्यवस्थापन गर्दै आएको छ । 

हेटौंडा–१०, राप्तीतटस्थित डम्पिङ साइटको व्यवस्थापन हुन नसकेको, डम्पिङ साइटमा आगलागी भएर वातावरण प्रदूषण भएको भन्दै योगेन्द्रप्रसाद उपाध्यायले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले मंगलबार निषेधाज्ञा जारी गर्ने आदेश दिएकी थिइन् । 

उपमहानगरपालिका र फोहोर व्यवस्थापनमा उपमहानगरसँग सहकार्य गर्दै आएको ग्रीन एण्ड क्लिन सर्भिसेज नेपालविरुद्ध उपाध्यायले रिट निवेदन दर्ता गराएका थिए । अदालतले २९ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन र हाललाई डम्पिङ साइटमा फोहर नफाल्न आदेश जारी गरेको हो ।

उपमहानगरपालिकाले २०२६ सालदेखि फोहोर व्यवस्थापन गर्दै आएको डम्पिङ साइटमा सम्भवतः पहिलोपटक यसरी फोहोर फाल्न रोकिएको हो । उपमहानगरपालिकाको वातावरण शाखाका उपप्रमुख केशव देवकोटाले उपमहानगरपालिकाको तर्फबाट फोहोर संकलन रोकिने सूचना जारी गरेको जानकारी गराउँदै अन्यत्र फोहोर फाल्ने स्थान नभएकाले फोहोर संकलन गरेर फाल्ने काम रोकिएको बताए । 

ग्रीन एण्ड क्लिन सिटी हेटौंडाका सञ्चालक नवराज खतिवडाले दैनिक फोहोर संकलनको कार्य नगर्न उपमहानगरबाट जानकारी प्राप्त भएसँगै फोहोर संकलनको कार्य रोकिएको बताए । ग्रीन एण्ड क्लिन सिटी सर्भिसेजले हेटौंडा उपमहानगरका १९ वटै वडाबाट २३ हजारभन्दा बढी घरधुरीबाट फोहोर संकलन गरेर व्यवस्थापन गर्दै आएको छ ।

After the court order, Hetaunda sub-metropolitan municipality stopped garbage collection

प्रताप

Link copied successfully