जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा माग्ने युवती पक्राउ 

माघ २४, २०८१

विवेक पोख्रेल

A girl was arrested for demanding money by threatening to implicate her in a case of extortion

काठमाडौँ — जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले चितवन रत्ननगर नगरपालिका–८ की २८ वर्षीया अस्मिता आचार्यलाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–१३, कुलेश्वरस्थित एक अपार्टमेन्टमा बस्दै आएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार अस्मिताले इलेक्ट्रोनिक्स सामान मर्मत गर्ने क्रममा चिनजान भएको युवकलाई ब्ल्याकमेल गर्दै रकम मागेकी थिइन् । छ महिनाअघि, राइस कुकर मर्मत गर्ने क्रममा अस्मिताको नजिकै रहेको स्टोरका युवकसँग चिनजान भएको देखिन्छ । युवतीलाई युवकले पैसा पनि सहयोग गरेका रहेछन् । आचार्य भने, ‘ उनीहरु नजिकिएपछि पटकपटक कुराकानी गर्ने गर्थे । चार पटकजति उनीहरू सँगै खाजा पनि खाएका रहेछन् । तर पछिल्लो समय अस्मिताले ती युवकलाई मलाई पैसा दे, नत्र जबरजस्ती करणीको मुद्दा लगाएर प्रहरी र तिम्रो परिवारलाई भन्दिन्छु भनेर धम्काउन थालिन्छन् ।  महिलाको धम्कीका कारण युवकले डरले १० लाख रुपैयाँ तिर्ने सहमति पनि गरेका रहेछन् ।’ 

प्रारम्भिक अनुसन्धानका क्रममा, अस्मिताले तत्काल ३ लाख रुपैयाँ र बाँकी ७ लाख एक हप्ताभित्र दिन सर्त राखेको समेत प्रहरीले अनुसन्धानमा भेटेको छ । महिलाको साथबाट उनकै नाममा रहेको नबिल बैंकको तीन लाखको चेक र आईफोन प्रहरीले बरामद गरेको छ । यस विषयमा युवकले प्रहरीमा आफू निर्दोष हुँदा पनि फसेको भन्दै उजुरी गरेका थिए । 

उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । अहिले युवतीलाई आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको आचार्यले बताए । 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully