पोखरा — तीन दिन पोखरामा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना भाषणमा मुख्य दुई विषयवस्तु दोहोर्याइरहे । उनले लगातार तीन दिनको फरक–फरक कार्यक्रममा दोहोर्याएको विषय थियो– नेपालको संविधानमा भएको समावेशी–समानुपातिक प्रणाली विश्वमै उत्कृष्ट छ । अर्को, पार्टीभित्र एकता भए अर्को चुनावसम्म कांग्रेसको एकल बहुमत आउँछ ।
आइतबार पोखरा महानगर समितिको सम्मेलन, सोमबार कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा भएको प्रदेश पार्टी सभापति र प्रदेश प्रशिक्षण विभागका प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भको अभिमुखीकरण र मंगलबार ७७ वटै जिल्ला सभापति र प्रशिक्षण शाखा प्रमुखको त्यस्तै अभिमुखीकरणमा उनी सहभागी भए ।
प्रदेश सभापति र उपसभापतिहरूको भेलामा उनले समावेशी, समानुपातिक राजनीतिक प्रणालीमा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएको बताए । पार्टीभित्र एकता भए भोलिका दिनमा बहुमत प्राप्त गर्ने पार्टी बन्न सक्ने उनको दाबी छ । पार्टी एकता कायम गर्न सके लोकतन्त्र, समावेशी समानुपातिक राजनीति, संघीय प्रणालीलाई सुदृढ गर्ने चुनौतीको सामना गर्न सकिने उनले बताएका छन् । मंगलबार जिल्ला सभापति र उपसभापतिहरूको भेलामा पनि उनले उक्त कुरा दोहोर्याए ।
उनले नेपालले महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरेको कार्यबाट अन्य देशले पनि सिकिरहेको बताएका थिए । नेपालको संविधान संसारमै उत्कृष्ट भए पनि एक पार्टीको बहुमत नआउँदा गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘राजनीतिक स्थिरता नभएको खण्डमा सरकारले काम गर्न सक्दैन । यसको आयु नै निश्चित हुँदैन,’ उनले भने, ‘दुई पार्टी मिलेर बनेको सरकारको स्थायित्व स्पष्ट छ । पहिलेदेखि नै दुईवटा पार्टी प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको पार्टी हुन् ।’
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी, संगठन, सदस्यता अभियान, केन्द्र र प्रदेशबीचको अन्तरसम्बन्ध, सरकारमा कांग्रेसको प्रभावकारिताबारे प्रशिक्षण दिए ।
सहभागी जिल्लाका सभापति एवं उपसभापतिले युवालाई स्वरोजगार बनाउने, मुलुकको विकासको गति, आर्थिक गतिलाई अगाडि बढाउने योजना ल्याउनुपर्ने, संगठन विस्तारमा ध्यान दिनुपर्ने, गठबन्धनबिनै चुनाव लड्नुपर्ने, पार्टीभित्रका गुट–उपगुट, घात–अन्तर्घात अन्त्य गर्नुपर्ने सुझाव दिएका थिए । अभिमुखीकरणमा बुधबार समूह विभाजन गरी छलफल गर्ने र उक्त छलफलबाट आएका निचोडको प्रस्तुति रहने बताइएको छ ।
