भन्सारमा पोको बोक्नेलाई खेद्ने, सेटिङमा आउनेलाई नदेख्ने हुँदा राजश्व उठेन : गिरी 

माघ २३, २०८१

कान्तिपुर संवाददाता

The revenue did not rise because the customs were chasing those who were carrying poco, not seeing those who came to the setting: Giri

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद पदम गिरीले भन्सारमा सेटिङ हुँदा राजश्व लक्ष्यअनुसार नउठेको बताएका छन् । भन्सारमा कार्यरत सरकारी अधिकारीहरू सेटिङमा संलग्न भएको उनको आरोप थियो ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा सांसद गिरीले भन्सारलाई लिएर उठ्दै आएका प्रश्नको जवाफ भने कहिल्यै नआएको बताए । 'पोकोमा सामान बोकेर आउने र जानेलाई भन्सारका कर्मचारीले खेदेजस्तो गर्ने तर सेटिङमा आउनेलाई नदेखे जस्तो गर्ने भएको छ । यस्तो गर्दाखेरि राजश्व सरकारको लक्ष्यअनुसार उठेको छैन,' गिरीले भने । 

भन्सार नाकाहरू अस्तव्यस्त रहेको पनि गिरीको भनाइ थियो । उनले पूर्वाधार निर्माण हुन नसक्दा भन्सारको अवस्था अस्तव्यस्त रहेको उनको भनाइ थियो ।

देशमा अत्यावश्यक पर्ने सामग्री भन्सारमा थन्क्याइएको पनि गिरीको भनाइ थियो । उनले नियोजित ढङ्गले भन्सारमा स्क्यान मेसिनहरू बिगारिएको बताए । 'करोडौँ लगानीका स्क्यान मेसिन मिलेमतोमा बिगारिएका छन् । हातले सामान चेकजाँच गर्नु लाजको विषय हो । यो प्रश्न मैले बारम्बार उठाएको छु, जवाफ कहिल्यै आएन,' उनले भने, 'कर्मचारी, सुरक्षाकर्मी, एजेन्ट, व्यापारीको मिलेमतोमा मेसिन बिगारिएको हो ।'

भन्सारमा सेटिङ गर्ने र मेसिन बिगार्नेहरूलाई कारबाही गर्नुपर्ने सांसदहरूले बताएका छन् । समितिमा सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी छन् ।

कान्तिपुर

Link copied successfully