निजी इन्जिनियरिङ कलेजका विद्यार्थी न्युटन शाही जनप्रशासन क्याम्पसका अधिकांश परीक्षामा खटिएर भत्ता बुझ्ने गर्छन्, क्याम्पसकै मोटरसाइकल र गाडी पनि चलाउँछन्
काठमाडौँ — जनप्रशासन क्याम्पस बल्खुमा ५ वर्षदेखि गैरकानुनी रूपमा क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका हरिभक्त शाहीले परीक्षामा आफू अनुकूल अनधिकृत व्यक्ति सहभागी गराएर अनियमितता गर्दै आएको पाइएको छ । क्याम्पस स्रोतका अनुसार शाहीले छोरा न्युटन र भतिज भूपेन्द्रलाई विगत केही वर्षदेखि परीक्षामा सहभागी गराउँदै आएका छन् ।
भतिज भूपेन्द्र परीक्षा शाखामा कार्यरत छन् भने छोराले परीक्षा भएको बेला निरीक्षक (गार्ड) को काम गर्छन् । न्युटन परीक्षा केन्द्रमा खटिएको भिडियो र सीसीटीभीको फुटेजसमेत कान्तिपुरलाई प्राप्त भएको छ ।
क्याम्पस प्रमुख शाहीले समेत छोरा र भतिजसहित शिक्षक, कर्मचारीभन्दा बाहिरका मान्छेलाई परीक्षामा खटाउने गरेको स्वीकार गरेका छन् । भूपेन्द्रलाई क्याम्पस प्रमुख शाहीले ज्यालादारीमा नियुक्त गरेका हुन् भने छोरा न्युटनले परीक्षामा सहभागी भएका बेला मात्र भत्ता बुझ्ने गरेको क्याम्पसका एक कर्मचारीले बताए ।
‘कहिले परीक्षामा गार्ड बस्छन्, कहिले रनिङ गार्ड बस्छन्,’ ती कर्मचारीले भने, ‘बाबु नै क्याम्पस प्रमुख र केन्द्राध्यक्ष भएपछि जे जे गरे पनि भयो नि । चिट चोराउनेसम्मका काम परीक्षा हलमा हुन्छ ।’ अधिकांश परीक्षामा सहभागी भएर न्युटनले क्याम्पसबाट पारिश्रमिक बुझ्ने गरेको ती कर्मचारीले बताए । अनधिकृत व्यक्तिलाई परीक्षामा राखेर भत्ता बुझेको विषयमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखा परीक्षणले कैफियत औंल्याउँदै त्यसो नगर्न सुझावसमेत दिइसकेको छ ।
क्याम्पस प्रमुख शाहीले माघ १८ मा सञ्चालित जनप्रशासनको आन्तरिक परीक्षा र मंसिरमा सञ्चालित डिन कार्यालयअन्तर्गतको परीक्षामा पनि छोरा न्युटनलाई परीक्षामा सहभागी गराएको क्याम्पसमा प्राध्यापकहरूको भनाइ छ । स्रोतका अनुसार पछिल्लो पटक मंसिरमा सञ्चालित एमपीए दोस्रो सेमेस्टर र माघ १८ देखि सञ्चालित चौथो सेमेस्टरको परीक्षामा पनि छोरा लगायत गैरअध्यापक र कर्मचारीलाई परीक्षा हलमा प्रवेश गराइएको उनीहरूले बताए ।
‘छोराका साथीहरूसमेत परीक्षामा गार्ड बस्न भन्दै आउँछन्,’ एक प्राध्यापकले भने, ‘सकभर क्याम्पसमा स्थायी प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापकलाई गार्ड राखिँदैन । बाहिरबाट खोजेर ल्याएका व्यक्ति गार्ड राखेपछि केन्द्राध्यक्षको चाहनाअनुसार परीक्षा सञ्चालन गर्न पाइयो ।’
क्याम्पस प्रमुख शाहीका छोरा न्युटन निजी इन्जिनियरिङ कलेजका विद्यार्थी हुन् । उनी उक्त कलेजमा नेपाल विद्यार्थी संघका सहसचिवसमेत छन् । क्याम्पस प्रमुख शाही र उनका छोरा न्युटनले जनप्रशासन क्याम्पसको मोटरसाइकल र बा१८च ७८५७ नम्बरको गाडी आलोपालो चलाउने गरेको प्रत्यक्षदर्शी प्राध्यापक र विद्यार्थीको भनाइ छ ।
परीक्षामा निरीक्षकका रूपमा अध्यापक र कर्मचारीबाहेक अन्यलाई राख्न नपाइने व्यवस्था छ । त्रिविको परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि २०७२ मा शिक्षक र कर्मचारीबाहेक अन्यलाई खटाउन नपाउने उल्लेख छ । ‘शिक्षक कर्मचारी जनशक्तिले पुग्ने गरी मात्र परीक्षाका सिफ्ट सञ्चालन गर्नुपर्छ,’ परीक्षा नियन्त्रण कार्यालय बल्खुका एक कर्मचारीले भने, ‘बाहिरका मान्छेलाई परीक्षा जस्तो संवेदनशील काममा सहभागी गराए कारबाहीको भागी हुन्छ । अनुगमनमा गएकाले सिफारिस गर्नुपर्छ । परीक्षा केन्द्र नै खारेजसम्म हुन्छ । केन्द्राध्यक्षलाई पनि निलम्बन गरेर कालोसूचीमा राख्न सकिने व्यवस्था छ ।’
क्याम्पसका अध्यापक र कर्मचारीबाट अपुग भए निजामती कर्मचारी, विद्यालयका शिक्षकलाई परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरी निरीक्षक राख्न सकिने एक क्याम्पस प्रमुखले बताए । ‘क्याम्पसबाट गार्ड बस्ने जनशक्ति अपुग भए सरकारी विद्यालयमा शिक्षकलाई राख्ने गरेका छौं,’ ती क्याम्पस प्रमुखले भने ।
गतवर्ष पोखराको पृथ्वीनारायण क्याम्पसले विद्यार्थीलाई परीक्षा निरीक्षकमा खटाएको उजुरी त्रिवि अनुगमन निर्देशनालयमा परेको थियो । निर्देशनालयले शिक्षक र कर्मचारीबाहेक अन्य व्यक्तिलाई परीक्षामा नखटाउन क्याम्पसलाई सचेत गराउँदै पत्राचार गरेको छ । अनधिकृत व्यक्तिलाई मानोमानी रूपमा परीक्षामा खटाउनु परीक्षाको आचारसंहिता विपरीत हुने परीक्षा नियन्त्रण कार्यालय त्रिविका पदाधिकारी बताउँछन् । जनप्रशासन क्याम्पसको परीक्षा लगायतको नियमन व्यवस्थापन संकाय डिन कार्यालयअन्तर्गत पर्छ ।
जनप्रशासन क्याम्पसबाट अवकाश प्राप्त प्राध्यापक गणेश अधिकारीले परीक्षामा जो पायो त्यहीलाई खटाएर क्याम्पस प्रमुख शाहीले अनियमितता गर्दै आएको बताए । ‘परीक्षामा अनधिकृत व्यक्तिलाई सहभागी गराइएको छ, यस्तोमा कसलाई पास गराउने कसलाई फेल गराउनेसम्मका काम हुनसक्छन् । यो कुरा परीक्षा नियन्त्रण कार्यालयदेखि त्रिविमा सबैलाई थाहा छ । तर मूकर्दशक छन्,’ उनले भने ।
जनप्रशासन क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अग्र शाहीले परीक्षामा छोरा, भतिजालाई सहभागी गराउँदै आएका धेरै पटक प्रत्यक्ष देखेको बताए । ‘हामीले त्यसको विरोध पनि गर्यौ । क्याम्पस प्रमुखले गार्ड बस्ने मान्छे नपाएर हो भन्नुभयो,’ उनले भने । प्रक्रियाबाट क्याम्पस प्रमुख नियुक्त नगरेर ५ वर्षदेखि निमित्तका रूपमा क्याम्पस चलाइराखेका शाहीले परीक्षामा समेत अनियमितता गर्दै आएको उनको आरोप छ ।
व्यवस्थापन संकायका डिन महानन्द चालिसेले जनप्रशासन क्याम्पसबारे केही गुनासो अनौपचारिक रूपमै आएको बताए । ‘म पनि बुझ्दै छु, परीक्षामा शिक्षक, कर्मचारीबाहेक गैरव्यक्तिहरूलाई खटाउन पाइँदैन, खटाइएको छ भने त्यो गैरकानुनी र विश्वविद्यालयका लागि नै दुर्भाग्यपूर्ण हो,’ उनले भने ।
आन्तरिकलगायत जुनसुनै परीक्षा भए पनि व्यवस्थित, मर्यादित र मापदण्ड पूरा गरेको हुनुपर्ने उनले औंल्याए । ‘परीक्षा जस्तो संवेदनशील विषयमा जथाभावी भएको छ भने डिन कार्यालयले हस्तक्षेप गर्छ,’ उनले भने, ‘जनप्रशासनले आफ्नै आन्तरिक व्यवस्थापनमा परीक्षा सञ्चालनको अभ्यास गर्दै आएको छ । नियमअनुसार भए/नभएको हेर्छौं ।’
क्याम्पस प्रमुख शाहीले शिक्षक, कर्मचारी अपुग भएकाले चिनचानका व्यक्तिलाई बोलाएर परीक्षामा गार्ड राख्ने गरेको बताए । ‘लोकसेवाले पनि परीक्षामा बाहिरको मान्छे राख्छ । जनप्रशासनका प्राध्यापक, सहप्राध्यापक गार्ड बस्न मान्दैनन्, काम गर्दैनन् । अल्छी छन्,’ उनले भने, ‘परीक्षा त चलाउनुपर्यो ।’
विश्वविद्यालयले पर्याप्त जनशक्ति खटाए शिक्षक, कर्मचारीबाटै परीक्षा सञ्चालन गर्ने उनले बताए । ‘छोरा इन्जिनियरिङ पढ्दै छ, मान्छे नपुगेका बेला अनुभव गरोस् भनेर परीक्षामा कहिले कहिले गार्ड बस्न दिएको हो,’ उनले भने, ‘सधैं राखेको छैन ।’
