जनकपुर र वीरगन्ज भन्सार तजबिजमा चलाएको देखियो : सांसद महतो

'जनकपुर पिप्रौलको सीमा उताबाट सार्दा सार्दा यता ल्याइस्क्यो, नयाँ-नयाँ स्तम्भ  निर्माण गरिएको छ'

माघ २३, २०८१

कान्तिपुर संवाददाता

Janakpur and Birganj customs were seen to be running in abeyance: MP Mahato

काठमाडौँ — एमाले सांसद जुलीकुमारी महतोले जनकपुर र वीरगन्जको भन्सार तजबिजमा चलाएको पाइएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा सांसद महतोले भन्सारहरू अस्तव्यस्त रहेको बताइन् । 

समितिले स्थगलत अनुगमनपछि बसेको बैठकमा सांसद महतोले भन्सारको अवस्था दयनीय रहेको बताइन् । 'जनकपुर र वीरगञ्जको भन्सार तजबिजमा चलाएको देखियो । भन्सार कार्यालयहरू पूरै अस्तव्यस्त छन् । कुनै प्रविधि प्रयोग गरिएको देखिएन,' सांसद महतोले भनिन्, 'राजश्व संकलनका लागि सरकारले दिएको लक्ष्य नजिक-नजिक पुगे भयो भन्ने जस्तो देखियो ।'

भारतीय बजारबाट चीनीको आयात पोका-पोकामा हुने गरेको पाइएको सांसद महतोको भनाइ थियो । त्यसरी ल्याइएको चिनीको रक्सौलमा ७२ रुपैयाँ प्रतिकिलो पर्ने र नेपालमा एक सय पाँच रुपैयाँ पर्ने गरेको उनले बताइन् ।

भारतीय पक्षले सीमाना सार्दै आएको पनि सांसद महतोले बताइन् । भारतीय पक्षबाट नयाँ-नयाँ स्तम्भ निर्माण भइरहेको विषय उनले उठाएकी हुन् । 'जनकपुर पिप्रौलको सीमा उताबाट सार्दा सार्दा यता ल्याइस्क्यो, नयाँ-नयाँ स्तम्भ  निर्माण गरिएको छ,' उनले भनिन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully